४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

पाण्डे–बजगाईँ विवाद: बजगाईँलाई स्पष्टीकरण सोध्दै कांग्रेसले माग्यो प्रमाण

नेपाली कांग्रेसले आफ्ना सांसद राजेन्द्र बजगाईँसँग स्पष्टीकरण सोधेको छ ।  बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे कांग्रेसको अनुशासन समितिले स्पष्टीकरण सोधेको हो । 

मन्त्री पाण्डेले दिएको उजुरीका आधारमा अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेमामा पार्टी महामन्त्री विश्वप्रकाश शर्मासँगै राखेर सांसद बजगाईँसँग मौखिक स्पष्टीकरण सोधेका हुन् । 

‘हामीले उहाँ(सांसद बजगाईँ)लाई बोलाएर मौखिक रूपमा केही कुरा सोध्यौं । उहाँले लगाएका आरोप निकै सङ्गिन किसिमका छन् । जसको आधिकारिकता के हो ? त्यो प्रमाण दिनुस् भन्यौँ,’ अनुशासन समितिका संयोजक ढुंगानाले नागरिक न्युजसँग भने,‘उहाँले भोलि(बुधवार) लिखितै सबै कुरा दिन्छु भन्नुभएको छ ।’ 

एउटा सांसदले त्यसरी उठाएका विषय निकै गम्भीर रहेको पनि ढुंगानाले बताए । ‘यति बोलिसकेपछि उहाँले प्रमाण दिनुपर्छ भन्ने पार्टीको धारणा हो । नभए कांग्रेसजस्तो पार्टीका एक पदाधिकारीमाथि त्यसरी लाञ्छना लगाएर त्यसले भएको सार्वजनिक क्षतिको जिम्मेवारी लिनुपर्छ,’ ढुंगानाले भने । 

सांसद् बजगाईँले सामाजिक सञ्जालमार्फत मन्त्री पाण्डेमाथि करोड–करोड घुस खाएर एक क्यासिनोको अनुमति दिएको आरोप लगाएका छन् । 

यस विरुद्ध चुनौती दिँदै मन्त्री पाण्डेले कांग्रेसको अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका थिए । 

प्रकाशित: ४ मंसिर २०८१ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App