२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुखले रोष्टमबाट फिर्ता पठाएपछि ....

पोखरा- सोमबारको प्रदेशसभा बैठकको विशेष समयमा सभामुख नेत्रनाथ अधिकारीले कास्कीका प्रदेशसभा सदस्य कृष्ण बहादुर थापालाई सबैभन्दा पहिला बोल्न समय दिए। सभामुखले अनुमति दिएपछि थापा सरासर रोष्टमतर्फ अगाडि बढे । विशेष समयमा दोश्रो पटक बोल्ने अनुमति पाएका थापा सरासर रोष्टममा पुगेर बोल्नै लाग्दा सभामुख नेत्रनाथ अधिकारीले थापालाई रोष्टमबाट फिर्ता पठाए। अधिकारीले थापालाई आफ्नै स्थानबाट बोल्न भनेपछि उनी रोष्टमबाट फर्केर सत्तापक्षका प्रदेशसभा सदस्यहरु बस्ने स्थानमा आए।

रोष्टमबाट फर्केपछि थापाले पार्दीस्थित कैलाश विकास बैंकमा आगलागी हुँदा आगो निभाउन पानी नभएको दमकल पठाएको भन्दै सम्बन्धित निकायले गैरजिम्मेवारीपूर्ण काम गर्ने भन्दै प्रदेशसभाको ध्यानाकर्षण गराए । यस्तै उनले प्रदेशसभा भवनलाई दीर्घकालीन योजना बनाएर सञ्चालन गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

थापा यसअघि पनि विशेष समयमा बोलिसकेका छन् । प्रदेशसभाको २१ गतेको बैठकमा थापाले आफु बसेकै ठाउँबाट मणिपाल शिक्षण अस्पतालको विषयमा बोलेका थिए । तर, सोमबारको विशेष बैठकमा भने थापा रोष्टममा जाँदा अन्य प्रदेशसभा सदस्यहरु पनि मुखामुख गरेका थिए।

हालसम्म प्रदेशसभा बैठकमा विधेयक पेश तथा कुनै विषयगत समितिको प्रतिवेदनमा मात्र प्रदेशसभा सदस्यहरु रोष्टममा गएर बोल्ने गरेका छन् । प्रदेशसभामा चौथोपटक विशेष समय र तेश्रो पटक शून्य समयमा बोल्ने सदस्यहरु पनि रोष्टममा गएका थिएनन् । प्रदेशसभा बैठकमा नियमित उपस्थित हुने थापा रोष्टमतर्फ लम्किँदा अन्य सदस्यहरु पनि आश्चर्यमा परेका थिए ।

यस्तै विशेष समयमा बोल्ने स्याङजाका मेखलाल श्रेष्ठले जनता आवास कार्यक्रममा सरकारले ध्यान दिन आग्रह गरे। स्थानीय तह पुनर्संरचना पश्चात उक्त कार्यक्रमको सम्बन्धित निकाय कुन हो भन्नेमा नै अष्पष्ट रहेको र यसले गर्दा निर्माणाधीन तथा निर्माण हुने भनिएका घरहरु अलपत्र परेको हुँदा सरकारले यसलाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरे।

बाग्लुङका चन्द्र बहादुर बुढा र पियारी थापाले सार्वजनिक यातायात प्रणाली, ट्याक्सी भाडामा अनियमितता, शिक्षा स्वास्थ्य क्षेत्रमा भएका अनियमिता रोक्नेतर्फ ध्यान दिन आग्रह गरे । गोरखाका हरिशरण आचार्यले भूकम्पपिडित सुकुम्बासीको बारेमा बैठकको ध्यानाकर्षण गराए । ‘पहिल्यैदेखिका सुकुम्बासीको सानो झुप्रो पनि भूकम्पले भत्काईदियो, पुनर्निर्माण प्राधिकरणले उनीहरुलाई पनि पिडितको सूचीमा राखेको छ, उनीहरुको आफ्नै जग्गा पनि छैन,’ उनले भने, ‘तर घरको डिपिसी तयार नगरेसम्म दोश्रो किस्ता नदिने प्राधिकरणको नीतिका कारण दोश्रो किस्ता लिन सुकुम्बासीले कसको जग्गामा घर बनाउने, यसतर्फ सरकारले कि बसिरहेको जग्गामा घर बनाउन दिनुपर्‍यो कि वैकल्पिक व्यवस्था गर्नुपर्‍यो।’

कास्कीका राजीव पहारीले फेवातालको क्षेत्रफल घट्दै गएको र आगामी ३० वर्षमा अस्तित्व मेटिने विषयमा संसदमा बोले । नवलपुर बर्दघाट सुस्तापूर्वका विष्णुप्रसाद लामिछानेले तनहुँ र पाल्पाबाट नवलपुरमा गाभिएका साविकका १७ गाविसहरुलाई दुर्गम क्षेत्र मानेर त्यहाँ खटिने कर्मचारीहरुलाई दुर्गम भत्ता दिनुपर्ने कुरा उठाए । विशेष समयमा मिना गुरुङ, सरिता गुरुङ लगायतले बोलेका थिए ।

यस्तै, शून्य समयमा बोल्ने तनहुँका रामबहादुर गुरुङले उद्योगको लागि सुरक्षित वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने बताए । उनले व्यास नगरपालिका ९ लाई वडा पर्यटन बनाउनुपर्ने बताए । कास्कीका रामजीप्रसाद बराल जीवन ले सत्य निरुपण र बेपत्ता छानविन आयोग बारे ध्यान दिनुपर्ने विषयमा कुरा उठाए । म्याग्दीका विनोद केसीले रघुगंगा गाउँपालिकाको गुठी जनताको लागि फुकुवा गर्नुपर्ने र प्रदेश सरकारले त्यसको लागि गुठीसम्बन्धि ऐन ल्याउनुपर्ने बताए।

प्रकाशित: २६ चैत्र २०७४ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App