२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

उप निर्वाचन हुने स्थानमा उमेद्वार मनोनयन दर्ताको क्रम सुरु

स्थानीय तह उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता सुरु भएको छ। निर्वाचन हुने क्षेत्रमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालय पुगेर उमेद्वारले मनोनयन दर्ता गर्ने क्रम सुरु भएको हो। 

निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेद्वारी दर्ताको समय तोकेको छ। सोही बमोजिम दलहरु र स्वतन्त्र उमेद्वारले मनोनयन दर्ता गर्न थालेको हाम्रा सहकर्मीहरुले जनाएका छन्।

यसैक्रमा काठमाडौंको कीर्तिपुर नगरपालिका १ को वडाध्यक्षका लागि सबैभन्दा पहिले स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। त्यहाँ विनोद महर्जनले स्वतन्त्र उमेद्वारी दर्ता गराएका हुन्।

भोलि सोमबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने कार्यतालिका छ।  

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुन लागेको हो।

प्रकाशित: २ मंसिर २०८१ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App