भूमिगत रुपमा पार्टी गठन गरी चन्दा उठाउने र बम पड्काउने धम्की दिने नेकपा गौरव समूहका प्रमुख व्यक्ति पक्राउ परेका छन्।प्रहरीले झापा र कैलालीमा बम पड्काएको आरोपमा उनलाई पर्साबाट पक्राउ गरेको हो।प्रहरीले वीरगन्जमा व्यापारीहरुसँग चन्दा उठाइरहेका बेला पक्राउ गरेको हो। ‘पर्साका एक व्यापारीसँग चन्दा असुल गर्दै गर्दा उनलाई पक्राउ गरिएको हो’, प्रहरीको उच्च स्रोतले भन्यो ।
गौरवको पार्टी अहिले भूमिगत रहेको छ। सो पार्टीले झापा र कैलालीमा बम पड्काएको प्रहरीको आरोप छ। प्रहरीले सकेसम्म गौरवको सबै टिमलाई पक्राउ गरेर सार्वजनिक गर्ने तयारी गरेको भएपनि थप अर्को एक जना मात्रै नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । ‘गौरव नियन्त्रणमा छन्, अन्य केही व्यक्तिको पनि खोजी हुँदैछ’, प्रहरी उच्च स्रोतले भन्यो । उनको पक्राउ बारे प्रहरीले जानकारी दिन चाहेको छैन।
गौरव नेतृत्वको नेकपा (माओवादी)ले केही दिन अघि मात्रै जनसत्ता गठन गरेको घोषणा गरेको थियो । पार्टीको केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकले पाँच कमाण्ड इन्चार्जसहित जनसत्ताको घोषणा गरेको थियो ।
केन्द्रीय जनसत्ता प्रमुखमा शेखर चयन गरेको जनाएको थियो। पूर्वी कमाण्ड इन्चार्जमा शेखर सिंह, मध्य कमाण्ड इन्चार्जमा अग्नी, मध्यपश्चिम कमाण्ड इन्चार्जमा जावेल, पश्चिम कमाण्ड इन्चार्जमा दिपक, सुदूरपश्चिम कमाण्ड इन्चार्जमा दानसिंहलाई जिम्मेवारी तोकिएको जनाएको थियो।
जनस्वास्थ्यमा रमाकान्त, अखिल नेपाल ट्रेड युनियन महासंघको संयोजकमा बाबुराम, नेपाल मुस्लिम मुक्ति मोर्चामा कलिमुद्धीन, प्रवास विभागमा समर्पण, अनेमसंघमा सरस्वती चौधरी र नेपाल आदिवासी जनजाति महासंघमा रमालाई जिम्मेवारी दिइएको छ। बैठकले मंसिर ८ लाई जनमुक्ति सेना तथा जनसत्ता स्थापना दिवसको अवसरमा मनाउने निर्णय गरेको भएपनि महासचिव गौरव आफै प्रक्राउ परेका छन् ।
प्रकाशित: २ मंसिर २०८१ ०९:४३ आइतबार