३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

टोल–टोलमा कांग्रेस अभियान: कार्यकर्ता भन्छन्, ‘चुनावपछि नेता गाउँ फर्केनन्’

बाँकेको राप्ती सोनारी–३ नारायणपुरमा कांग्रेस नेताहरू समक्ष गुनासो पोख्दै कार्यकर्ता। तस्बिर: अर्जुन ओली/नागरिक

सत्तारुढ दल नेपाली कांग्रेसले अहिले ‘टोल–टोलमा कांग्रेस अभियान’ चलाइरहेको छ। यसका लागि पार्टीले टोल–टोलमा आफ्ना प्रतिनिधि समेत खटाएको छ। बाँकेमा पनि अभियान चलिरहेको छ।

अभियान चल्दै गर्दा पार्टीका तल्लो तहका कार्यकर्ताले नेताको कार्यशैली र व्यवहार प्रति असन्तुष्टि पोखेका छन्। ‘जब चुनाव नजिक आउँछ, त्यसपछि मात्रै पार्टीका नेतालाई हामी कार्यकर्ता चाहिन्छौं, नत्र नेताको अनुहार देखिँदैन,’ राप्ती सोनारी–३ बाँकेका कार्यकर्ता टिकाराम थारुले भने।

अभियान अन्तर्गत बाँके क्षेत्र नम्बर-१ कार्यसमितिले राप्ती सोनारी–३ नारायणपुर टोलमा भेटघाट कार्यक्रम राखेको थियो। सोही कार्यक्रममा उपस्थित भएका थारुले पार्टीलाई बलियो बनाउनुभन्दा पहिले नेताले नै आफ्नो बानी र व्यवहारमा सुधार ल्याउनुपर्ने सुझाव दिए।

‘हाम्रो पार्टीभित्र कहिल्यै निको नहुने अर्को रोग हो, घात–अन्तर्घात,’ पार्टीका वनघुस्री टोल सभापति थारुले भने ‘आफूले टिकट पाएपछि ठिक, अरूले पाएपछि हराउने काम हुन्छ।’

राप्ती सोनारी–३ सिनाबासका दिलबहादुर थारुले पनि नेताका आचरण र व्यवहारबाट दिक्क भएको संकेत गरे। कांग्रेस पुरानो र राम्रो पार्टी भएपनि नेताहरुको आचरणका कारण जनतामा नराम्रो सन्देश गइरहेको बताए।

‘चुनाव हुँदा मात्र गाउँमा नेताहरू देखा पर्नुहुन्छ, नत्र अघिपछि कार्यकर्ताहरु आपत्–विपद्‌मा पर्दा मतलब नै हुदैन,’ उनले भने ‘पार्टीबाट जितेर गएका जनप्रतिनिधिहरू त झन् बोलाउँदा पनि बोल्दैनन्, हाम्रा काम गरिदिने कुरा त परै जाओस्, यस्तो अवस्थामा हामीले पार्टीको काम गर्नुपरेको छ।’

यस्ता प्रवृत्तिले गर्दा गाउँमा कार्यकर्ता र जनतामा कत्ति पनि उत्साह नभएको दिलबहादुरले दुखेसो पोखे। राप्ती सोनारी–३ सिनाबास टोल समितिका सभापति रहेका उनले ठुला नेताले गरेका गल्तीको अपजस आफुहरुले खेप्न नसक्ने बताए। वडा तथा टोलमा हुने विकास निर्माणमा पनि पार्टीले चासो राख्नुपर्ने कार्यकर्ताहरुको सुझाव छ।

कार्यकर्ताका गुनासो सुनेपछि प्रतिनिधि भएर खटिएका महासमिति सदस्य महावीर ओलीले पार्टीको यस अभियानले संगठन सुदृढीकरणमा फाइदा हुने विश्वास लिए। अभियानले पार्टीको सांगठनिक अवस्था, टोलमा भएको विकास निर्माण र अझै गर्नुपर्ने काम लगायत विषयमा पहिचान गर्ने उनले बताए।

कांग्रेस क्षेत्र नम्बर-१ का सभापति पोषणराज केसीले कार्यकर्ताले राखेका सुझाव र गुनासोलाई जस्ताको त्यस्तै टिपेर प्रतिवेदन तयार गरी पार्टीको माथिल्लो निकायमा पेश गरिने बताए।

आफूहरू टोल–टोलमा पुग्दा पार्टीका नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको र संगठनको आन्तरिक जीवनका साथै विकास निर्माणका योजना तथा जनताले भोग्नुपरेका समस्या र समाधानको उपायका बारेमा छलफल गरिएको उनले जानकारी दिए।

राप्ती सोनारी–१ स्थित कुसुमबाट सुरु गरिएको उक्त अभियानलाई क्षेत्र नम्बर-१ का सबै वडा तथा टोलसम्म लैजाने सभापति केसीले बताए।

प्रकाशित: २९ कार्तिक २०८१ १६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App