३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

म प्रधानमन्त्री हुँदा गफ नदिइ काम गरेको थिएँ: माधव नेपाल

.

.

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको मुख्य समस्या सरकारको अस्थिरता नभएको स्पष्ट पारेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफू नौ महिना सरकारमा बसेका बेला उदाहरण प्रस्तुत गरेको दाबी गरे।

उनले उक्त अवधिमा गफ नगरी काम गरेर देखाएको र नौ महिनाको सरकारको कार्यकालले देशमा तरंग ल्याएको उल्लेख गरे। ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ अभियान, वृद्धभत्ता वितरण, र ६० हजार सुकुम्बासी परिवारलाई जग्गा वितरणजस्ता कार्य उदाहरणीय रहेको उनको भनाइ थियो।

उनले काम गर्नेका लागि नौ महिना पनि पर्याप्त हुने र आफ्नो नेतृत्वमा मध्यपहाडी तथा तराईको हुलाकी राजमार्गको निर्माण सुरु भएको उल्लेख गरे।

अध्यक्ष नेपालले भने, ‘देशको समस्याको मुल कारण सरकारको अस्थिरता होइन, हामीले नौ महिनामा नै उदाहरणीय काम गरेर देशभर तरंग पैदा गर्‍यौं। सुकुम्वासीलाई जग्गा बाँड्ने, वृद्धभत्ता वितरणदेखि आफ्नै गाउँ बनाउने अभियानसम्मका काम गरेर देखायौं। छोटो समयमै ठोस काम गर्ने हो भने सम्भव छ भन्ने प्रमाण हामीले दिएका छौं।’

उनले आफ्नो नेतृत्वमा सुरु भएका परियोजनाहरुका बारेमा स्थानीयहरुबाट पनि सकारात्मक प्रतिक्रिया पाएको अनुभव सुनाउँदै मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग निर्माण कार्यको सम्झना गरे। उनले राजमार्ग निर्माणका क्रममा भएका सम्झौताहरुले अहिले उत्कृष्ट सडक उपलब्ध गराएकोमा गौरव गरे।

देशमा भएका परिवर्तन, गणतन्त्र स्थापनाका लागि आफूहरुले अग्रणी भूमिका खेलेको दाबी गर्दै उनले गणतन्त्र स्थापनाका क्रममा भित्रैबाट केही व्यक्तिहरुले अवरोध पुर्‍याउन खोजेको स्मरण गरे।

उनले कांग्रेस पार्टीले राजतन्त्र हटाउन साहस नगर्दा र अन्य दलहरु पनि हिच्किचाउँदा आफूहरुले एक्लै साहस गरेर परिवर्तन साकार पारेको उल्लेख गरे।

अध्यक्ष नेपालले हाल नेपालको राजनीति भ्रष्टाचारको समस्याले ग्रस्त रहेको र भ्रष्टाचार अन्त्य नगरी मन्त्रीको संख्या घटाएर मात्रै सुधार नआउने धारणा राखे।

प्रकाशित: २९ कार्तिक २०८१ १६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App