१२ पुस २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘मानव तस्करी’ आरोपित पूर्वमन्त्री अधिकारीलाई ७ दिन थप हिरासत

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई मंगलबार अनुमति दिएका हुन्।  

फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारीसहित दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन्। उनीहरुलाई दिएको दुई दिनको म्याद सोमबार सकिएपछि प्रहरीले मंगलबार अदालतमा पेस गरेको थियो।

कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए। तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट फर्काइदिएको थियो। उनीहरूलाई बिचौलियाहरु धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजालले पठाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।  

आरोपीहरुविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २७ कार्तिक २०८१ १७:५५ मंगलबार

#Lilabalab Adhakari