बागमती प्रदेशमा भागबण्डा मिलाउनका लागि मन्त्रालय थप गरिएको छ।
हेटौँडामा मंगलबार (आज) बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय थप गरिएको हो।
वन मन्त्री कृष्णप्रसाद सिलवालका अनुसार, पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
‘बागमती प्रदेशमा एक जना विना विभागीय मन्त्री हुनुहुन्थ्यो, भर्खर बसेको क्याबिनेटको बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरेर उहाँलाई दिने निर्णय गरेका छौँ’–मन्त्री सिलवालले भने। १११ दिनसम्म विना विभागीय मन्त्री भएका श्रेष्ठले छिट्टै मन्त्रालय समाल्ने उनले बताए। पर्यटन संस्कृत तथा सहकारी मन्त्रालयको बजेट एक अर्ब समेत थिएन। अब यस मन्त्रालयको बजेट समेत बाडफाड हुनेछ। यी मन्त्रालयमा संघीय सरकारबाट प्राप्त हुने अनुदान, समपूरक, विशेष अनुदान समेत समावेश गरिने बताइएको छ।
यससंगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन्। यसअघि १३ मन्त्रालय थिए। साउन ९ गते बहादुरसिंह तामाङले मुख्यमन्त्रीको शपथ खाए पनि मन्त्रीलाई जिम्मेवारी दिन सकेका थिएनन्। यससंगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री सहित ८ र नेकपा९एमाले०का तर्फबाट ६ मन्त्रालयको टुंगो लागेको छ। संसद्का दुई ठुला दल कांग्रेस र एमालेको सरकारमा श्रेष्ठ सबैभन्दा लामो समयसम्म विनाविभागीयमन्त्री बसेका थिए।
प्रकाशित: २७ कार्तिक २०८१ १३:१८ मंगलबार