नेकपा (एमाले)को नयाँ नेतृत्व चुन्न यहि कात्तिक २९ र ३० गते ११ औं जिल्ला अधिवशेन हुँदैछ। अरू जिल्लामा छ महिनाअघि नै एमालेको नयाँ नेतृत्व चुनिएपनि इलाम क्षेत्र २ मा गत वैशाख १५ गते उपनिर्वाचन भएका कारण एमाले इलामको जिल्ला अधिवेशन स्थगित भएको थियो।
नयाँ नेतृत्वमा आउने आकांक्षीको लर्काे लामो देखिएको छ। नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन्। यसपटक इलाममा गृहजिल्ला इलाम नै भएका आफ्ना ‘हेभिवेट’ नेताहरू पार्टीका पूर्वकेन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र तत्कालीन एमाले केन्द्रीय उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङबिनाको अधिवेशन हुँदैछ। खनाल र नेम्बाङ रहुञ्जेल पनि दुवै नेता पार्टीभित्र फरक ‘लाइन’का रहेकाले त्यसको असर नेतृत्व चुन्ने ठाउँसम्म प्रत्यक्ष रूपमा आइपुग्नेगरेको थियो। खनाल अहिले एमालेमा छैनन् भने नेम्बाङको गतवर्ष निधन भएको छ।
तर, खनाल र नेम्बाङ दुवै जिल्लाको पार्टी र नेतका लागि ‘मियो’ थिए, उनीहरूका ‘कुरा काट्न’ गाह«ो हुने भएपनि नेतृत्वम चयन केही सहज हुनेगरेको जिल्ला तहका नेता सम्झन्छन्। अहिले खनाल र नेम्बाङको अनुपस्थितिमा हुने अधिवशेनमा नेतृत्व लिने होडबाजी अझ पेचिलो देखिएको छ। इलामको पार्टी नेतृत्वमा थोरबहुत केन्द्रीय नेतृत्वको सोझो प्रभावसमेत देखिनेगरेकाले यसपटकको अधिवेशनमा नेताहरूबीच रस्साकस्सीझैं देखिएको छ।
अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित १ सय २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ। तर, नयाँ पदाधिकारीका आकांक्षीको लर्काे लामो भएकाले सर्वसम्मत् रूपमा निर्वाचित हुने सम्भावना थोरैमात्र देखिएको छ।
पार्टीको जिल्ला अध्यक्ष बन्न अहिलेसम्म गणेशप्रसाद बराल, नरेन्द्रनाथ भट्टराई र डा.देवी क्षेत्री दुलालको नाम चर्चामा छ। बराल अब हुने ११औं जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्ष र कोशी प्रदेश कमिटी सदस्य पनि हुन्। पार्टीको जिल्ला सचिव भइसकेका बराल आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमै रामबहादुर रानासँग पराजित भएका थिए। २०४९ देखि २०५२ सालसम्म इलामको मरब क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत भएका बराल २०५४ सालमा तत्कालीन जितपुर गाविसको अध्यक्ष भएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनबाट उनी इलामको जिल्ला समन्वय समिति प्रमुखसमेत भए। उनले आफू अबको अधिवेशनमा अध्यक्षको उम्मेदवार हुने बताए।
अध्यक्षका अर्का उम्मेदवार नरेन्द्रनाथ भट्टराई लामो समयदेखि एमालेको राजनीतिमा क्रियाशील छन्। उनी अहिले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य छन्। पार्टीको जिल्ला उपसचिव, सचिव भइसकेका भट्टराई सातौं जिल्ला अधिवेशनमा मणिकुमार लिम्बूसँग अध्यक्षमै पराजित भएका थिए। उनले २०४३ सालको निर्वाचनमा इलामको प्रधानपञ्चको जनपक्षीय उम्मेदवार भएपनि विजय हासिल गर्न सकेका थिएनन्।
अध्यक्षकै उम्मेदवार डा.देवी क्षेत्री दुलाल आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्न सोही पदका अन्य आकांक्षीसँग कुरा गरेको बताउँछन्। उनले आफू १०औं अधिवेशनमा पनि अध्यक्षको उम्मेदवार रहेको, सैद्धान्तिक, वैचारिक सबै हिसाबले योग्य रहेकाले आफूलाई अध्यक्षमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको जनाए। तर, नेतृत्व जसको आएपनि सर्वसम्मत् हुनुपर्ने बताउने डा.दुलालले निर्वाचन हुने अवस्था बने आफू प्रतिस्पर्धामा चाहिँ नजाने पनि खुलाए।
जिल्ला कमिटीको एक उपाध्यक्ष पदका लागि अहिलेसम्म चार जनाको नाम चर्चामा छ। वर्तमान उपाध्यक्ष उदयबहादुर राई, सचिव उमेश गुरुङ, सचिवालय सदस्यद्वय बुद्धिप्रसाद खनाल र रमेश राईले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। वर्तमान उपाध्यक्षसमेत रहेका उपाध्यक्ष पदकै उम्मेदवार उदय राई अनेरास्ववियु, राष्ट्रिय युवा संघलगायत भ्रातृ संगठनका जिम्मेवारी सम्हाल्दै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। उनी लामो समय एमालेका तत्कालीन नेता झलनाथ खनालको स्वकीय सचिवसमेत भएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा सन्दकपुर गाउँपालिको अध्यक्ष पदमा निर्वाचित राई पार्टीको जिल्ला कमिटीमा तीन पटक सदस्य भएर दसौं अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्।
उपाध्यक्ष पदकै अर्का उम्मेदवार उमेश गुरुङले आफू पटक–पटक जिल्ला कमिटी सदस्य, उपसचिव र सचिव हुँदै अब उपाध्यक्ष पदमा आकांक्षी रहेको जनाए। गुरुङ २०४५ सालदेखि नै विद्यार्थी राजनीति हुँदै पार्टीमा सक्रिय भएका हुन्। पार्टीको २ कार्यकाल जिल्ला सदस्य, एक कार्यकाल उपसचिव भएका गुरुङ अहिले पार्टीको जिल्ला सचिव पदमै कार्यरत छन्।
प्रेस चौतारी इलाम शाखाको अध्यक्ष, मेची अञ्चल कमिटी अध्यक्ष हुँदै गुरुङ नेपाल पत्रकार महासंघ इलाम शाखाको समेत अध्यक्ष भएका थिए। गुरुङ स्वभाविक हिसाबले पनि अब आफू उपाध्यक्ष पदको हकदार भएको दाबी गरिरहेका छन्।
उपाध्यक्षकै उम्मेदवारका आकांक्षी बुद्धिप्रसाद खनाल लामो विद्यार्थी राजनीतिबाट पार्टीमा सक्रिय भएका हुन्। खनाल अनेरास्ववियुको जिल्ला उपाध्यक्ष, मेची संयोजक हुँदै अहिले पार्टीको जिल्ला सचिवालय सदस्य छन्। लामो समयसम्म तत्कालीन एमाले नेता सुवासचन्द्र नेम्बाङको स्वकीय सचिव भएका खनाल अहिले माई नगरपालिका वडा ७ को वडाध्यक्ष पनि हुन्।
खनालले आफूले लामो समयदेखि पार्टीमा योगदान गरेकाले आफूलाई उपाध्यक्ष बनाउन सबैमा आग्रह गरिरहेको जनाए। खनालले आफूलाई सबै प्रतिनिधिले उपाध्यक्षमा निर्वाचित गर्ने विश्वास गरेको भन्दै आफ्नो अवधारणा प्रतिनिधिसामु राखिरहेको सुनाए।
उपाध्यक्षका अर्का उम्मेदवार सूर्याेदय नगरपालिका घर भएका रमेश राई लेखक पनि हुन्। पार्टी जिल्ला सचिवालय सदस्यसमेत रहेका राईले आफू व्यक्तिगत रूपमा नभई प्रतिनिधिसभा क्षेत्र १ को प्रतिनिधिकै रूपमा उपाध्यक्षमा उम्मेदवारी दिने बताए।
उनले यसबारे १ नम्बर क्षेत्रीय कमिटीले नै आफूलाई उपाध्यक्षको उम्मेदवार बनाउने दाबी पनि गरे। तर, उपाध्यक्षका आकांक्षी उदयबहादुर राई र अर्का आकांक्षी उमेश गुरुङ पनि इलाम क्षेत्र १ कै बासिन्दा हुन्। रमेश राई १०औं जिल्ला अधिवेशनमा उपसचिवमा रवीन्द्र सुवेदीसँग पराजित भएका थिए।
सचिव पदमा अहिलेसम्म वर्तमान उपसचिव रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले दाबी गरेका छन्। प्रकाश अधिकारीले लामो समय पार्टीको जिल्ला कमिटीलगायत विभिन्न भ्रातृ संगठनमा काम गरेका छन्। अनेरास्ववियु र प्रेस चौतारी नेपालको जिल्ला अध्यक्षसमेत भइसकेका अधिकारी नेपाल पत्रकार महासंघ इलाम शाखाको पूर्वउपाध्यक्ष पनि हुन्। अधिकारी पार्टीको १०औं जिल्ला अधिवेशनमा सचिव पदमै पराजित भएका थिए। उनले आफ्नो लामो अनुभव पार्टीमा प्रयोग गर्न चाहेपनि अवसर नपाएकाले यस पटक सचिव पदमा उम्मेदवारी दिने बताएका छन्।
सचिवका अर्का उम्मेदवार रवीन्द्र सुवेदीले पनि आफू विद्यार्थीको जिल्ला र केन्द्रीय नेतृत्वमा रहँदै पार्टीमा समेत अनुभव हासिल गरेको बताए। अहिले पनि पूर्णकालीन रूपमा पार्टीमै क्रियाशील रहेको भन्दै सुवेदीले सचिव पदमा आफूलाई निर्वाचित गराउन आग्रह गरे। सुवेदी अनेरास्ववियुको जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य हुँदै १०औं अधिवेशनबाट पार्टीको जिल्ला उपसचिव भएका थिए। उपसचिव पदमा भने धेरैजनाको नाम चर्चामा छ।
छवि श्रेष्ठ, हेमन्त राई, दिलकुमारी लिम्बू, सरु राईलगायतले उपसचिव पदमा आकांक्षा देखाएका छन्। सदरमुकामको सिटीहलमा हुने अधिवेशनको तयारी धमाधम भइरहेको छ। अधिवेशनका लागि कात्तिक २१ गते नै पाँच सय ८३ प्रतिनिधि छानिएका छन्। अहिले अधिवेशन प्रतिनिधिको परिचयपत्र बनाउने, नाम रुजु गर्नेलगायतका काम भइरहेको एमालेले जनाएको छ।
जिल्लाका सबै ८१ वटै वडा, २१ जनसंगठन तथा पेसागत संगठन, तीन इलाका, शाखा र एउटा विशेष वडा कमिटीबाट प्रतिनिधि छानिएको प्रतिनिधि व्यवस्थापन समिति संयोजकसमेत रहेका जिल्ला सचिव उमेश गुरुङले जानकारी दिए। धेरैजसो वडा र कमिटीहरूमा सर्वसम्मत् रूपमा प्रतिनिधि छानिएपनि कतिपयमा निर्वाचनप्रक्रियाबाटै छानिएका छन्।
प्रकाशित: २७ कार्तिक २०८१ १०:३५ मंगलबार