२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रमुख दलको ध्यान उपनिर्वाचनमा

प्रमुख राजनीतिक दलहरू स्थानीय तहको उपनिर्वाचनको गृहकार्यमा जुटेका छन्। जिल्ला समन्वय समिति (जिसस) प्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षसहित ४४ पदका लागि मंसिर १६ गते हुने निर्वाचनको तयारीमा दलहरू जुटेका हुन् ।

२०८४ सालमा हुने आम निर्वाचन एक्लाएक्लै प्रतिस्पर्धा गर्ने जनाउँदै आएका प्रमुख दलहरूले जिसस प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ पदका लागि हुने निर्वाचनलाई आआफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।

२०७४ र २०७९ सालमा सम्पन्न निर्वाचनमा एकअर्कासँग चुतावी तालमेल गरेका प्रमुख दलले उपनिर्वाचनलाई आआफ्नो दलको परीक्षाका रूपमा लिएका छन्। सोहीअनुसार प्रमुख राजनीतिक दलका नेताहरू स्थानीय तहको उपनिर्वाचनको गृहकार्यमा जुटेका हुन्। निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी मनोनयनको कार्यतालिका तोकेसँगै दलहरू आन्तरिक छलफलका साथै नेताहरूलाई खटाउन थालेका छन्।

प्रतिनिधिसभाको ठुलो दल नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति नै गठन गरेको छ। उक्त समितिले प्रदेश तथा अन्य राजनीतिक दलसँगसमेत समन्वय गर्नेगरी १० नेतालाई जिम्मेवारी तोकेको छ।

प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्नेगरी १० जना नेतालाई जिम्मेवारी दिइएको हो। जसमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’लाई बागमती, भीष्मराज आङ्देम्बेलाई कोसी, जीवन परियारलाई कर्णाली र गण्डकी प्रदेशको जिम्मेवारी दिइएको छ। पार्टी प्रवक्ता प्रकाशशरण महतलाई अन्तर पार्टी समन्वय, प्रचार विभाग प्रमुख मीन विश्वकर्मालाई प्रचारप्रसार, महेन्द्र यादवलाई मधेस प्रदेश, एनपी साउदलाई सुदूरपश्चिम प्रदेशको समन्वयको जिम्मेवारी तोकिएको छ। पुष्पा भुसाललाई लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग, मधु आचार्यलाई स्थानीय तह र नानु बाँस्तोलालाई सचिवालय व्यवस्थापन संयोजकको जिम्मेवारी दिइएको छ।

कांग्रेसले दैलेखको महावु गाउँपालिकाको अध्यक्षमा झलकबहादुर भण्डारी र दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा रेशमबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय पनि गरिसकेको छ। यसअघि महावुमा कांग्रेसले जितेको थियो भने दुल्लु–१३ मा एमालेले जितेको थियो। कांग्रेसले मोरङको ग्रामथान गाउँपालिको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने अन्य ठाउँको पनि उम्मेदवार टुंगो लगाउन नेताहरूले गृहकार्य अघि बढाएका छन् ।

त्यस्तै सरकारको नेतृत्व गरिरहेको एमालेले स्थानीय तहको उपचुनावको तयारीका लागि सचिवालय बैठक बोलाएको छ। शनिबार बिहान ११ बजे मुख्यालय च्यासलमा सचिवालय बैठक बोलाएको छ। बैठकमा उपचुनावका साथै समसायिक राजनीतिक अवस्था, सत्तारूढ कांग्रेस र एमालेले बनाएको संयन्त्रसहितका विषयमा छलफल हुनेछ।

माओवादी केन्द्रले पनि सोही विषयमा छलफल गर्न आइतबार पदाधिकारी बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि पदाधिकारी बैठक बोलाइएको हो। सरकारबाहिर रहेका कतिपय दलसँग चुनावी तालमेल गरेर जाने विषयमा पनि खुला रहेको माओवादी पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक, उपनिर्वाचनको तयारी र पछिल्लो राजनीति घटनाक्रमका विषयमा छलफल गर्नेछ। माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा भने नवोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ।

शनिबार बिहान साढे ११ बजे पार्टी कार्यालयमा बोलाइएको बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरूका साथै आन्दोलनको मोडालिटीबारे बैठकमा छलफल हुनेछ।

त्यस्तै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालनका विषयमा पनि बैठकमा छलफल हुनेछ। २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनपछि मात्र स्थापना भएको रास्वपाले उपनिर्वाचनमा भाग लिने तयारीसहित उम्मेदवार छनोटका लागि गृहकार्य थालेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि स्थानीय तहको उपनिर्वाचनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधिलाई अघि बढाएको छ। राप्रपाले उपचुनावको तयारीलाई व्यवस्थित गर्न शीर्ष तहकै नेतालाई चुनावी कमान्डर तोकेको छ। पार्टी पदाधिकारीलाई नै खटाउने निर्णय अनुसार उसले मोरङको ग्रामथान गाउँपालिकासहित सुनसरीको लालीगुराँस नगरपालिका–८ को जिम्मेवारी महामन्त्री प्रह्लाद साहलाई दिएको छ।

पार्टी प्रवक्ता भक्ति सिटौलालाई झापाकै कन्काई नगरपालिका–६ दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका लागि सहकोषाध्यक्ष शोभित उप्रेतीलाई खटाएको छ। काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुख चुनावका लागि प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, दैलेखको महाबु गाउँपालिका अध्यक्ष जिताउने जिम्मेवारीसहित महामन्त्री कुन्ती शाही खटिएका छन्। राप्रपाले तिहारअघि नै ध्रुव महर्जनलाई कीर्तिपुर नगरपालिकाको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

जाजरकोटको नलगाड नगरपालिका उपमेयरमा महामन्त्री शौरेन्द्रबहादुर शाह, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका निम्ति हुने चुनावको तयारीका लागि महामन्त्री धवलशमशेर जबरालाई खटाइएको छ। महामन्त्री राजेन्द्र गुरुङ ओखलढुंगाको मोलुङ गाउँपालिका–५ सहमहामन्त्री प्रकाश रिमाललाई काठमाडौं महानगरपालिका–१६ को जिम्मेवारी दिइएको छ।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ। स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, सांगठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्माणका काम गर्ने क्षमता भएका नेताहरू पहिचान गरी कात्तिक मसान्तभित्र नाम सिफारिस गर्न भनेको छ।

रिक्तमध्ये एक नगरप्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए। दुई गाउँपालिका उपाध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित थिए। अधिकांश स्थानमा जनप्रतिनिधिको निधन भएपछि पद रिक्त भएको हो।

कीर्तिपुर नगरपालिकाको प्रमुख जितेका राजकुमार नकर्मीको २०८१ साउन १० गते मिर्गौलासम्बन्धी रोगबाट निधन भएको थियो। स्थानीय तह निर्वाचनमा नौ हजार ४३ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार केशरत्न बज्राचार्यले पाँच हजार पाँच सय सात मत पाएका थिए।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको २०८१ असार ३ गते निधन भएको थियो। गच्छदारले गत निर्वाचनमा सात हजार ६ सय पाँच मत प्राप्त गरेका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारूले ६ हजार ९३ मत पाएका थिए।  

दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको २०७९ माघ २७ गते निधन भएको हो। उनले दुई हजार नौ सय ७९ मतसहित निर्वाचित हुँदा एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार पाँच सय १९ मत पाएका थिए। जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा निधन भयो।

कांग्रेसका तर्फबाट निर्वाचित सिंहले पाँच हजार चार सय६ मत पाउँदा एमालेकी सुनिता बोहरा तीन हजार तीन सय ९३ मतमा समेटिएकी थिइन्। दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए। उनको २०८० असार ३१ गते हृदयाघातका कारण निधन भएको थियो। तामाङले चार हजार ७ सय ४१ मत ल्याउँदा एमालेकी मुना शिवाकोटीले तीन हजार दुई सय८१ मत पाएकी थिइन्।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी मैना जोशी निर्वाचित भएकी थिइन्। एमालेकी सुलोचनाकुमारी भण्डारीलाई पराजित गरेकी उनको २०८० माघ ४ गते निधन भएको थियो। जोशीले एक हजार आठ सय १० मत पाउँदा भण्डारीले एक हजार ६ सय ३७ मत ल्याएकी थिइन्।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीका भूपेन्द्र बुढामगर चार हजार ५९ मतसहित निर्वाचित भएका थिए भने कांग्रेसकी कमलाकुमारी मल्लले दुई हजार १० मत पाएकी थिइन्। बुढामगरको २०८१ भदौ २८ गते सवारी दुर्घटनामा परी निधन भएको थियो।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीका तर्फबाट चन्द्रसिंह कार्की निर्वाचित भएकी थिइन्। उनको २०८१ भदौ ४ गते सवारी दुर्घटनामा परी निधन भएको थियो। तीन हजार दुई सय ६९ मतसहित कार्की निर्वाचित हुँदा त्यतिबेला एमालेकी जुनकुमारी फडेरा एक हजार ६४ मतसहित पराजित भएकी थिइन्।

प्रकाशित: २४ कार्तिक २०८१ ०७:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App