७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपनिर्वाचनमा रास्वपा: अनलाइनबाट उम्मेदवारी आवेदन, मेयरको शुल्क तीन हजार

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मंसिर १६ गते हुने उप निर्वाचनका लागि अनलाइनमार्फत उम्मेदवारीको आवेदन लिइरहेको छ । अनलाइन प्लेटफर्ममा गुगल फाराममार्फत इच्छुक व्यक्तिले उम्मेदवारी दिन सक्ने रास्वपाले जनाएको छ । 

जसअनुसार गुगलमा फारामको एउटा लिंक रास्वपाले सामाजिक सञ्जालमा सेयर गरेको छ ।  

गुगल फाराममा इच्छुकले उठ्न खोजेको प्रदेश, जिल्ला, स्थानीय तह, वडा र पद भर्नुपर्ने, आफ्नो नाम, जन्म मिति, मोबाइल नम्बर, रास्वपाको सदस्यता परिचय पत्र नम्बर, शैक्षिक योग्यता पनि भर्नुपर्ने अप्सन राखिएको छ । 

त्यसपछि  आफू उम्मेदवारको विकल्प हुनुको कारण, निर्वाचन क्षेत्रका मुख्य समस्या र निर्वाचित भएपछि गर्ने काम, निर्वाचित हुने आधार उल्लेख गर्नुपर्ने थप अप्सन छन् । त्यसपछि नागरिकताको फोटो पनि त्यही राख्नुपर्ने व्यवस्था छ । 

अन्त्यमा फाराम भर्दा लाग्ने शुल्क बुझाउन क्युआर कोड राखिएको छ र भौचर अपडेट गर्ने भनिएको छ । 

रास्वपाले यो फाराम भरेर उम्मेदवारी आवेदन दिनका लागि मेयर र उपमेयर पदमा तीन हजार, गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष पदमा दुई हजार र वडाध्यक्ष पदमा एक हजार पाँच सय शुल्क तोकेको छ । 

रास्वपाले यो फाराम आइतबार(कार्तिक २५) गते दिउँसो २ बजेसम्म भर्नुपर्ने समयावधि तोकेको छ । 

यसरी संकलन भएका उम्मेदवारी आवेदन उपर प्रारम्भिक निर्वाचन गरेर अन्तिम उम्मेदवार छनोट गर्ने रास्वपाले जनाएको छ । जसअनुसार प्रारम्भिक उम्मेदवार नामावली कार्तिक २५ गते साँझ ८ बजेसम्म जारी गर्ने, २६ गते साँझ ५ बजेसम्म ती उम्मेदवारहरूउपर दाबी विरोध, त्यसपछि कार्तिक २७ गते साँझ ५ बजेसम्म उम्मेदवारसँग छलफल गर्ने, सोही दिन उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने रास्वपाको कार्य तालिका छ । 

त्यसपछि कार्तिक २८ गते मतदान वा निर्णय गरेर पार्टीबाट निर्वाचनमा सहभागी हुने उम्मेदवार तय गरिने र त्यसको निर्णय दोस्रो दिन २९ गतेसम्म सार्वजनिक गर्ने रास्वपाले जनाएको छ । 

प्रकाशित: २३ कार्तिक २०८१ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App