८ कार्तिक २०८१ बिहीबार
image/svg+xml
राजनीति

रविको तिहार प्रहरी हिरासतमै !

कास्की जिल्ला अदालतले बिहीबार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। यो सँगै सभापति लामिछानेको तिहार लगभग प्रहरी हिरासतमै बित्ने पक्कापक्की भएको छ।

नयाँ थपिएको समय बिहीबार (कार्तिक ८ गते) बाटै गणना हुन्छ। जसअनुसार अदालतले हिरासतमा राख्न दिएको समयावधि कार्तिक १४ गते मध्यरात १२ बजेसम्म हुन्छ। अदालतले दिएको अनुमतिको समय सकिएपछि अर्को कार्यालय खुल्ने दिनमा प्रहरीले फेरी अदालत समक्ष पेस गर्नुपर्छ।

यहाँ कार्तिक १५ गतेबाट भने तिहारको सार्वजनिक बिदाको समय सुरु हुँदैछ। यसपटक तिहारको सार्वजनिक बिदा कार्तिक १९ गतेसम्म छ। यसको अर्थ रविलाई प्रहरीले कार्तिक २० गते मात्रै हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्ने वा छाड्ने भन्ने निर्क्योल गर्नेछ। म्याद थपका लागि प्रहरीले फेरी अदालतमा गएर समय माग्नुपर्ने छ।

प्रहरीले अहिले पाएको सात दिनको म्याद १४ गते सकिए पनि तिहारभर रविलाई हिरासतमा राख्न सक्ने अवस्था देखिएको नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक९डिआइजी० केशव अधिकारी बताउँछन्।

‘यस्तो अवस्थामा सार्वजनिक बिदाका बेला आरोपितलाई हिरासतमा राख्दा प्रहरीलाई समस्या हुँदैन। यो गैर कानुनी थुना मानिँदैन,’ उनले भने,‘हिरासत सकिएको समय लगत्तै सार्वजनिक बिदाहरू भए त्यसपछि म्याद लिन अदालत खुल्ने दिन नै कुर्ने हो । त्यतिन्जेल अभियुक्त हिरासतमै रहन्छ।’

बरु यस्तो बेला प्रहरीले अनुसन्धानका क्रममा लाभ उठाउन सक्ने उनी बताउँछन्। ‘सङ्गठित अपराध अनुसन्धानको मौका प्रहरी अधिकारीका लागि निकै महत्त्वपूर्ण अवसर पनि मानिन्छ। यस्तोमा अभियुक्तलाई मर्का परे पनि अतिरिक्त समयमा थप प्रमाण संकलन गर्ने मौका प्रहरीका लागि हुन्छ,’ उनले भने।

प्रकाशित: ८ कार्तिक २०८१ १५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App