७ कार्तिक २०८१ बुधबार
image/svg+xml
राजनीति

विभाजन भयले प्रमसँग त्रस्त साना दल

म कसैको पार्टी फुटाउने पक्षमा छैन । कसैसँग वैरभाव छैन। अध्यादेश ल्याउने मेरो कुनै योजना छैन। मेरो नियतमाथि कुनै शंका नगर्न आग्रह गर्छु’, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विपक्षी दलहरूको ज्ञापनपत्र बुझ्दै गर्दा व्यक्त धारणाको एक अंश हो यो।  

ओलीले विपक्षी दलहरूलाई दल विभाजन गर्ने अध्यादेश नल्याउनेमा आश्वस्त बनाउने प्रयास गर्दैगर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘तपाईं जे बोल्नुहुन्छ, त्यो गर्नुहुन्न । जे गर्नुहुन्छ, त्यो बोल्नुहुन्न । रविलाई पनि पक्षपात ढंगले व्यवहार गर्नुभयो । तपाइको बोली र काम गराइमा फरक छ ।’ विपक्षी दलहरू ज्ञापनपत्र बुझाउन बालुवाटार पुग्नुअघि प्रधानमन्त्री ओली राजनीतिक दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने अन्तिम कसरतमा थिए ।

तर सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरू अध्यादेशको पक्षमा सकारात्मक नभएपछि ओलीले सोमबारका लागि बोलाएको मन्त्रिपरिषद् बैठकसमेत स्थगित गरे। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका साना दल विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउन पक्षमा ओली छन्।  

कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत विश्वासमा लिएर ओली अध्यादेश अघि बढाउने पक्षमा छन्। माओवादी केन्द्रबाट विगतमा धोका पाएका देउवा ओलीको प्रस्तावमा सुरुमा सकारात्मक देखिएका थिए।ओलीले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको अशोक राई नेतृत्वको समूहलाई राजनीतिक दलको मान्यता दिन मात्र अध्यादेश ल्याउन लागिएको बताएका थिए।

ओलीको सोही भनाइका आधारमा देउवाले पार्टीका नेता शेखर कोइरालासँग पनि केही दिनअघि यही कुरा राखेका थिए। कोइरालाले ओली साना दल विभाजन गरेर एमालेलाई प्रतिनिधिसभामा ठुलो दल बनाउने रणनीतिमा रहेको जानकारी देउवालाई गराएका थिए।

कोइरालाको कुरामा देउवा आश्वस्त हुन सकेका थिएनन्। प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेशमा कांग्रेसको सहमति जुटाउन आइतबार साँझ सभापति देउवासहितका नेतालाई छलफलका लागि बालुवाटारमा बोलाएका थिए।  

छलफलमा कांग्रेस सभापति देउवालगायत नेताले पार्टी नेता कोइरालासहितको सहमति आवश्यक हुने धारणा राखेका थिए। कोइरालासँग अध्यादेशका विषयमा कुरा गर्न देउवासहितका नेताले ओलीलाई आग्रह गरेका थिए।  

प्रधानमन्त्री ओली र देउवासहित कांग्रेस नेता बालुवाटारमा छलफलमा जुट्दा नेता कोइराला भने विराटनगरमा पत्रकारसँग भेट गर्दै थिए। पत्रकारसँग उनले प्रधानमन्त्री ओली साना राजनीतिक दल विभाजनका लागि सक्रिय भएको र त्यसका लागि अध्यादेश ल्याउने तयारीमा रहेको बताएका थिए। कोइरालाले अध्यादेशमार्फत दल विभाजनलाई सहज बनाउन अध्यादेश ल्याउने कुरा लोकतान्त्रिक शासन व्यवस्थामा सुहाउने विषय नभएको र त्यसमा सहमति हुन नसक्ने बताएका थिए।

कांग्रेसभित्र कोइरालासहितका नेताहरू दल विभाजन अध्यादेशको विपक्षमा उभिएपछि सोमबार मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश ल्याउन प्रधानमन्त्री ओली रोकिएका हुन्। प्रधानमन्त्री ओली राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा एसलाई विभाजित गर्ने र अशोक राई नेतृत्वको समूहलाई राजनीतिक मान्यता दिने तयारीमा छन्। उनी अध्यादेशमार्फत महन्थ ठाकुर नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमा समेत विभाजन ल्याउने रणनीतिमा छन्।  

नेकपा एसबाट प्रेम आलेसहित पाँच सांसद्को अलग हुने तयारीमा छन्। आले समूह र राई समूहलाई अलग दलको मान्यता दिएर एमालेमा मिसाउने ओली रणनीति छ। यस्तो भए प्रतिनिधिसभामा एमाले सबैभन्दा ठुलो दल बन्ने छ। यसरी साना दलको अस्तित्व सक्ने रणनीतिमा ओली जुटेको माओवादी केन्द्रसहितका विपक्षी दलको बुझाइ छ। ठुलो दल बनेपछि कांग्रेससँगको सत्ता सहकार्य तोड्ने र प्रतिनिधिसभा विघटनमा जाने ओली रणनीति रहेको विपक्षी दलहरूको विश्लेषण छ।  

त्यस्तै सुरुमा ओली रवि लामिछानेलाई पक्राउ गर्ने पक्षमा नभएको विपक्षी दलको बुझाइ छ। तर उनले आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका बेलामा गृहमन्त्री रमेश लेखकलाई लामिछानेलाई पक्राउ गर्न भनेको दाबी गर्दै एक नेताले भने, ‘असोज ६ गते नै लामिछानेलाई पक्राउ गर्ने तयारी भएपनि गृहमन्त्री लेखक अन्तिम समयमा पछि हटेका हुन्।’ कांग्रेस नेताहरूले प्रधानमन्त्री विदेश भएका बेलामा लामिछानेलाई पक्राउ नगर्न गृहमन्त्री लेखकलाई सुझाएको निकटहरूको दाबी छ। सोही दिन सहकारी प्रकरणमा मुछिएका छविलाल जोशीलाई भने पक्राउ गरिएको थियो। 

त्यसपछि बाढीपहिरोका कारण मुलुकमा धनजनको क्षति भएपछि सबैको ध्यान त्यसतर्फ केन्द्रित भएको थियो।  

बाढीपहिरो प्रभावितलाई राहत वितरण र कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राख्नेसहितका विषयमा गठबन्धनभित्रै चिसो उत्पन्न भएको थियो।  

अमेरिकाबाट फर्केपछि प्रधानमन्त्री ओली साना राजनीतिक दललाई विभाजन गर्नेगरी अध्यादेश ल्याउने गृहकार्यमा लागेपछि कांग्रेससहित विपक्षी दलहरू सरकारको विकल्प खोज्न सक्रिय भएका थिए।  

दसैंलगत्तै ओलीको विकल्प खोज्न विपक्षी दलहरू मात्र होइन, कांग्रेस पनि तयार भएको सूचनाका आधारमा त्यसलाई रोक्न प्रधानमन्त्री ओलीकै सक्रियतामा लामिछानेलाई पक्राउ गरिएको एक विपक्षी दलका उच्च नेताको दाबी छ।  

ओली कांग्रेसलाई विश्वासमा लिएर अध्यादेश ल्याउने, एमालेलाई प्रतिनिधिसभामा ठुलो दल बनाउने र प्रतिनिधिसभा विघटनको पक्षमा रहेको ती नेताको दाबी छ।

यही कुरा बुझेका विपक्षी दलले प्रधानमन्त्री ओलीलाई दल विभाजन अध्यादेश नल्याउन दबाब दिन ज्ञापनपत्र बुझाएको नेताहरूले दाबी गरेका छन्।  

माओवादी केन्द्रले अझै अध्यादेशको सम्भावना टरिनसकेको निष्कर्ष निकाल्दै १० गते काठमाडौंमा प्रदर्शन र खबरदारीसभा गर्ने भएको छ। सरकारका गलत कमदको विरोधमा काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ। अध्यक्ष दाहालले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै खबरदारी सभा गर्ने निर्णय भएको बताएका हुन्।

प्रकाशित: ७ कार्तिक २०८१ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App