२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले बिचौलिया तत्त्वको स्वार्थमा काम गर्दा जनता थप निराश भए: पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले गठन भएको तीन महिना बितिसक्दा पनि वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारले लय समात्न नसकेको बताएका छन्।

गृह जिल्ला रोल्पाको राङसीमा शहीद स्मृति युवा क्लबको १५औं वार्षिकोत्सवमा बोल्दै उनले सरकार जनआकाङ्क्षा र भावनाअनुसार नचलेको बताए।

पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारबाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्त्वले प्रतिनिधिसभाका दुई प्रमुख दल काँग्रेस र एमालेलाई रातारात मिलाएर केपी ओली नेतृत्वमा वर्तमान सरकार गठन गरेको आरोप उनको थियो।

सरकारले यो तीन महिनामा आशा जगाउने काम गर्नुको साटो बिचौलिया तत्त्वहरूकै स्वार्थमा काम गरेको टिप्पणी पुनले गरे। ‘बिचौलिया तत्त्वहरूले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे’, पुनले भने, ‘नयाँ सरकार बनेको तीन महिना भयो। सरकारले कुनै नयाँ उत्साह जगाउन, नयाँ कार्यक्रम ल्याउन र सकारात्मक बाटो लिएको छैन।’

सरकारले जनतामा आशा जगाउन नसकेको र मुलुकका निराशा बढ्दै गएको उनको भनाइ छ। सरकारमा रहका दलहरुलाई जनताका आकांक्षा र भावनाअनुसार काम गर्न सुझाउँदै उनले प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग गर्ने र खराब काम गर्दा विरोध गर्ने स्पष्ट गरे।

फरक प्रसङ्गमा पुनले पञ्चायतको ३० वर्ष र ०४६ पछिको बहुदलीय संसदीय व्यवस्थाको १५ वर्षमा भन्दा गणतन्त्र स्थापनापछिको १५ वर्षमा भौतिक पूर्वाधार निर्माण र विकासका काम धेरै भएको औँल्याए।

आफूले अर्थमन्त्रीका रुपमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दा तथ्याङ्क नै पेश गरेको उल्लेख गर्दै उनले ३० वर्षको पञ्चालयतकालमा ७ हजार मिलोमिट, संसदीय व्यवस्थाको अवधिमा १८ हजार किलोमिटर र गणतन्त्र स्थापनापछिको पछिल्लो १५ वर्षमा देशभर १ लाख किलोमिटर सडक निर्माण भएको बताए। त्यसलाई उनले गणतान्त्रिक व्यवस्थाको सकारात्मक सूचकका रुपमा व्याख्या गरे। ‘३० वर्षको पञ्चालयकालमा ७ हजार किलोमिटर मात्र सडक बनेको रहेछ। बहुदलकालमा १८ हजार किलोमिटर सडक थियो। गणतन्त्रको पछिल्लो १५ वर्षमा १ लाख किलोमिटर सडक बनेको छ। हो एउटा सकारात्मक उदाहरण हो’, पुनले भने।

यद्यपि अहिले भएकै विकासबाट सन्तुष्ट भएर बस्न नमिल्ने र धेरै गर्न बाँकी रहेको उनले औँल्याए। शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र खानेपानीको पूर्वाधारमा धेरै काम गर्न बाँकी रहेको पुनले बताए। बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि सरकारले शिक्षा र  स्वास्थ्यलाई निजीकरण गर्ने नीति अख्तियार गरेका कारण ती सेवा हुनेले लिने र नहुने अवसरबाट वञ्चित हुनेजस्तो अवस्था रहेको भन्दै उनले दोश्रो चरणको आर्थिक सुधारमार्फत विद्यमान अवस्थामा परिवर्तन गर्नुपर्ने औँल्याए। आफूले चालु आर्थिक वर्षको बजेटमा दोश्रो चरणको आर्थिक सुधारको नीति अघि सारेको चर्चा गर्दै उनले वर्तमान अर्थमन्त्री विष्णु पौडेलले त्यसका लागि आयोग गठन गरेको उल्लेख गरे।

मुलुकको आर्थिक विकासका लागि नयाँ आर्थिक केन्द्रहरूको निर्माण जरुरी रहेको व्याख्या गर्दै पुनले आफूले चालु आर्थिक वर्षको बजेटमा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर, बुटवल र पोखरालाई तीन वटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना प्रस्ताव गरेको बताए।

प्रकाशित: २ कार्तिक २०८१ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App