३० आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैनः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताएका छन्।

मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला बुधबार रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

मन्त्री गुरुङले समानुपातिक प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनी दिए। उनले मुलुकलाई द्वन्द्वमा फस्न नदिन मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पार्दै, यो प्रणालीले सबैलाई बराबर अधिकार सुनिश्चित गर्ने बताए।

संघीय शासन प्रणालीलाई दोष दिनु अघि राजनीतिक दलहरूले आफ्नो व्यवहार, आचरण, र कार्यशैलीमा रहेको कमजोरी सुधार्नुपर्ने उनले जोड दिए।

मन्त्री गुरुङले संघीयताको उद्देश्य राष्ट्रिय एकता प्रवर्द्धन गर्नु र जनताको सेवा प्रभावकारी बनाउनु रहेको स्मरण गराउँदै भने, "संघीयतामा जाँदा जनप्रतिनिधिहरुको काममाथि जनताको निगरानी बढी हुन्छ। जनताले आफ्ना प्रतिनिधिहरूलाई नजिकै राखेर उनीहरूको कामको मूल्यांकन गर्न सक्छन्।"

उनले समानुपातिक प्रणाली हटाउनु भनेको अर्को द्वन्द्व निम्त्याउनु भएकोले, यो प्रणालीलाई आवश्यक ठहर गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।

"हामीले किन मिश्रित निर्वाचन प्रणाली अपनायौं? प्रश्न उठिरहेकै छन्। समानुपातिक हटाउनु पर्छ भन्ने आवाज छ। तर, समानुपातिक हटायो भने अर्को द्वन्द्वमा फस्न तयार हुनुपर्छ," उनले भने।

मन्त्री गुरुङले संघीयता ल्याउनुको मुख्य कारण विभेद अन्त्य गर्न, झगडा रोक्न, र जनतासँग सरकारलाई नजिक राख्न रहेको बताए। "जति सरकार नजिक हुन्छ, त्यति नै जनताको सेवा राम्रोसँग गर्न सकिन्छ," उनले थपे।

उनले राजनीतिक दल र नेताहरूले आफ्नो आचरण सुधार गर्दै संघीयता र निर्वाचन प्रणालीलाई सही ढंगले चलाउनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित: ३० आश्विन २०८१ १९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App