३० आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अध्यक्ष दाहाल र स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकबिच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले स्वीजरल्याण्डको नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरसँग द्विपक्षीय भेटवार्ता भएको छ।

अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा आएका अध्यक्ष दाहालले स्वीस नेसनल काउन्सिलका अध्यक्ष एरिकसँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगकासाथै नेपालको शान्ति प्रक्रियामा स्वीस सरकारको सहयोगका बारेमा छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियामा स्वीस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरे।

संयुक्त राष्ट्रसंघ, आइपीयू लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र स्वीजरल्याण्डले आपसी सहयोग र सहकार्य गर्दै आइरहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि दुई देशबिचको पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्याण्डसँग काम गर्न नेपाल सधैं तयार रहेको बताए।

प्रत्यक्ष लोकतन्त्र र संघीयताको अभ्यासमा स्वीट्जरल्याण्ड विश्वकै सफल उदाहरण भएको चर्चा गर्दै अध्यक्ष दाहालले भने, 'संघीयगणतन्त्रको रुपमा भर्खरै अभ्यास गरिरहेको नेपाललेस्वीट्जरल्याण्डका असल अभ्यासबुझ्न र सिक्नप्रयासरत छ। हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौं।'

राज्यको शासकीय संरचनामा सीमान्तकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको भन्दै उनले संघीय संसद र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताए।

सङ्क्रमणकालीन न्यायका लागि द्वन्द्वपीडितलाई न्याय र क्षतिपूर्ति दिन नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष दाहालले संघीय संसदका दुवै सदनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको जानकारी दिए।

'शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिहामी दिगो शान्ति, स्थायित्व र विकासको लक्ष्यतर्फ अघि बढेका छौं,'अध्यक्ष दाहालले भने, 'नेपालको शान्ति प्रक्रियालाई पूर्णता दिन स्वीस सरकारको महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने हामीले अपेक्षा लिएका छौं।'

प्रकाशित: ३० आश्विन २०८१ १३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App