४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘माओवादी कमजोर भए उपलब्धि गुम्ने खतरा’

नेपालगन्जमा लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। तस्बिर: नागरिक

नेपाली कांग्रेस र नेकपा एमालेको साथ पाएर लामो समयसम्म सरकारमा रहेको नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि प्रदेश तथा जिल्लाकेन्द्रित अभियानमा लागिपरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सिंगो पार्टी पश्चिम जिल्लामा केन्द्रित हुन पुगेको हो।

माओवादी केन्द्रले नेपालगन्जमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका लागि परामर्श बैठक तथा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ। दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको सहभागिता रहेको छ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार प्रशिक्षण दिनका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिवहरू वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल, सचिव चक्रपाणि खनाल लगायतका नेताहरू नेपालगन्ज आइपुगेका छन्।

माओवादीले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा परामर्श बैठक गरिसकेको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्ने र केन्द्रीय कमिटीले ठोस निर्णय गरेर क्रमिक रूपमा जनतामा जाने बताइएको छ।

परामर्श बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताको अधिकारका लागि शक्तिशाली माओवादी केन्द्र बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। उनले माओवादी कमजोर भएमा सबै उपलब्धि गुम्न सक्ने खतरा औंल्याए।

माओवादीलाई कमजोर बनाउने, विभाजनको हल्ला चलाउने तथा जनतामा भ्रम सिर्जना गर्ने दुष्प्रयास भइरहेकाले सचेत रहन पार्टीका नेतालाई आग्रह पनि गरे।

सत्ताबाट बाहिएपछि पहिलोपटक नेपालगन्ज आइपुगेका अध्यक्ष दाहालले वर्तमान सरकारका गतिविधिको सडकबाट निगरानी बढाउने चेतावनी पनि दिए। प्रेस सेन्टर बाँकेले आइतबार गरेको पत्रकार भेटघाटमा उनले सरकारका गतिविधि हेर्दा शंका गर्ने ठाउँ प्रशस्त रहेको बताए। ‘यो सरकार अवैध छ। हामी सडकबाट प्रतिकार गर्छौं, त्यो प्रतिकार शान्तिपूर्ण हुनेछ’, उनले भने।

सरकार गठन प्रक्रियासमेत वैध नभएको पूर्वप्रधानमन्त्री दाहालको भनाइ छ। सरकार कसले गठन गरेको हो भन्ने कुरा देखिसकिएकाले यो सरकारको वैधता नभएको बताए। आफू नेतृत्वमा रहँदा संकटमा परेको देशको अर्थतन्त्रलाई माथि उकास्ने काम गरेको र भ्रष्टचार नियन्त्रण गरेको दाबी गर्दै भ्रष्टलाई बचाउन यो सरकार बनेको उनले प्रतिक्रिया दिए।

अर्को प्रसंगमा उनले भने, ‘आजको मितिमा नेतृत्व हस्तान्तरण त्यति उपयुक्त छैन, मेरा लागि अध्यक्ष पद ठूलो होइन, अध्यक्षभन्दा ममाथि भइसकें, टोली बन्यो भने मैले नयाँ भूमिकामा जाने सोच बनाएको छु।’

माओवादी अब जनतामा केन्द्रित हुने भन्दै उनले माओवादी जनताकै मुद्दा बोकेर आएको र अहिले पनि जनताकै साथमा रहेको दाबी गरे।

प्रकाशित: १७ भाद्र २०८१ ०७:३४ सोमबार

# Maowadi #Party President Pushpa Kamal Dahal