३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभामा सांसदहरूले उठाए कमला पुलको मुद्दा

कमला पुल बनाउन सरकार गम्भीर बन्नुपर्छ

मधेसको जीवन रेखा हुलाकी राजमार्ग अन्तर्गतको कमला नदीमाथि पक्की पुल निर्माणमा सरकार गम्भीर बन्नुपर्ने प्रतिनिधिसभा बैठकमा सांसदहरूले जोडदार माग गरेका छन्।

१३ वर्षदेखि अलपत्र कमला पुल निर्माण नहुँदा मधेसको जीवन पद्धति नै अवरुद्ध बन्न पुगेको भन्दै सांसदहरूले निर्माणमा गम्भीरता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले कमला नदीमा पक्की पुल निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्। पुल निर्माणका लागि स्थानीयहरू आमरण अनशन बसिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले भने,‘कमलामा पुल निर्माणको कार्य अविलम्ब सुरुवात होस्।’

प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले मधेसको लाइफ लाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गतको कमला पुल निर्माण नहुँदा यस भेगका हजारौँ जनसाधारण सास्ती भोगिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

कमला पुल अलपत्र हुँदा सप्तरी र सिरहाका जनसाधारण प्रदेशको राजधानी जनकपुरधाम आउजाउ गर्दा सास्ती भोग्दै आएको प्रति समेत सांसद श्रेष्ठले सरकारको ध्यानाकर्षण गराएका छन्। कमला पुल निर्माणका लागि जनकपुरधाममा जनप्रतिनिधि र स्थानीयहरू आमरण अनशन बसिरहेको प्रति समर्थन जनाउँदै उनले भने,‘यस अनशनलाई सरकारले सामान्य रुपमा लियोस्।’ सरकारले गम्भीरता देखाएर यो पुल छिटो भन्दा छिटो बन्ने वातावरण बनाओस् र आमरण अनशन पनि हटोस्, उनले भने।

सिरहा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद राजकिशोर यादवले कमला नदीमा पुल एउटा पुल मात्र नभई मधेसको जीवन रेखा भएको उल्लेख गर्दै कमला पुल निर्माण र भासिएको पुलका दोषीउपर कारबाहीको माग गर्दै आमरण अनशन बसेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

अनशनकारी युवाहरूलाई पुल बन्ने विश्वास दिलाएर सरकारले अविलम्ब आमरण अनशन तोडाउन उनले सरकारको ध्यानाकर्षण गराउँदै जोडदार माग गरेका छन्।

कमला नदीको भासिएको पुलले सरकारले कसरी का गरिरहेको छ। बदमासी गर्ने कसरी उन्मुक्ति पाइरहेका छन् भन्ने गतिलो उदाहरण कमलाको भासिएको पुल भएको, उनले भने।

सांसद रामकृष्ण यादवले लगभग निर्माण सम्पन्न भैसकेको कमला पुल कमला नदीमा आएको बाढीले भासिएपछि सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायत जिल्लाका हजारौँ जनता सास्ती भोग्न बाध्य भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भने,‘सरकार यस पुलको निर्माणप्रति गम्भीरता देखाएर निर्माण काम अविलम्ब सुरुवात गराउनु पर्दछ।’

हरेक आन्दोलन र परिवर्तनमा मधेसको भूमिका उल्लेख्य रहे पनि मधेसको जीवन रेखाप्रति सरकार गम्भीरता नदेखाउँदा स्थानीय आमरण अनशन बस्नु परेकोप्रति सांसद यादवले सरकारको ध्यानाकर्षण गराएका छन्। मधेसका जनताको जीवनपद्धति कमला पुल निर्माणमा सरकार गम्भीर बनोस्, उनले भने।

हुलाकी राजमार्ग अन्तर्गतको जनकपुरधामदेखि सिरहासम्मको अधिकांश ठाउँमा सडक निर्माणको काम सम्पन्न भए पनि कमला नदीमाथिको पुल निर्माण १३ वर्षदेखि अलपत्र छ।

ठेकेदारले निर्माण अन्तिम चरणमा रहेको भनिरहेका बेला तीन वर्षअघि बाढीले कमला नदीमा बन्दै गरेको पुल भासिएपछि पुनःनिर्माणका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन। त्यसपछि सिरहाका १० जना अभियन्ता सामूहिक आमरण अनशनमा बसेका हुन्।

इन्जिनियर प्रवीणकुमार यादवको नेतृत्वमा जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि तीन दिन देखि आमरण अनशन जारी छ।

हुलाकी सडकअन्तर्गत कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका इन्जिनियर यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नं ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का अध्यक्ष सुरेन्द्रकुमार यादव, मनिषकुमार यादव, इन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य इन्जिनियर रुपेश यादव, इन्जिनियर शिवशंर यादव र सोही गाउँपालिका—३ का वडाध्यक्ष जीवछ यादव आमरण अनशनमा बसेका हुन्।

अनशनरत्तमध्ये चार जनाको स्वास्थ्यमा समस्या देखिएपछि स्लाइन पानी चढाइएको छ। उनी स्लाइन पानी चढाएर अनशन जारी राखेका छन्।

सिरहा र धनुषाबिच द्रुत सम्पर्कको सेतु हो, कमला नदीको पुल। यो पुल निर्माणसँग धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धति जोडिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बिचमा चार सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौँले २८ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुई पटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो।

प्रकाशित: ६ भाद्र २०८१ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App