४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री पाण्डेद्वारा एक महिने कार्यतालिका सार्वजनिक

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन्। गत असार ३१ गते मन्त्रालय सम्हालेका पाण्डेले आगामी महिनादेखि प्रत्येक बुधवार मन्त्रालयका विभागस्तरीय छलफल गर्ने कार्यतालिका बनाएर सार्वजनिक गरेका हुन्।

मन्त्रालयका एक कर्मचारीका अनुसार सोमवार आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन मन्त्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन्।

मन्त्रालयले बोकेका लक्ष्य र उद्देश्य हासिल गर्न युद्धस्तरमा काम गरिरहेको ती कर्मचारीले बताए।

मन्त्रालयका कर्मचारीका अनुसार पहिलाका मन्त्रीहरूले एकीकृत रूपमा सबै निकायसँग छलफल गरे पनि यसरी विभागस्तरीय छलफल भने नभएको बताए। ‘पूर्व मन्त्रीहरूले छलफल नगर्ने भन्ने होइन’, कर्मचारीले भने, ‘एकीकृत छलफल त भइहाल्थ्यो तर यसपटक भने मन्त्रीज्यूले विभागस्तरीय छलफल गरेर तालिका सार्वजनिक गर्नुभएको छ।’ उनले काममा अनावश्यक राजनीति र हस्तक्षेप नभए मन्त्री पाण्डेले गरेको निर्णय सकारात्मक भएको बताए।

‘केही गरौं भनेर काम गरिरहनु भएको देखिएको छ’, उनले भने, ‘अहिले नै मूल्याङ्कन गर्न सापेक्ष हुँदैन्, कम्तीमा ३÷४ महिना पर्खेपछि थाहा हुन्छ।’ उनले मन्त्री पाण्डेले मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा आफ्नो जिम्मेवारीसहित कार्यभार सञ्चालन गर्ने क्रममा सुशासन र पारदर्शिताको सवालमा कर्तव्यनिष्ठ भई काम गर्न प्रतिबद्ध देखिएको बताए।

‘मन्त्रीज्यूले पर्यटन, नागरिक उड्डयन र संस्कृति तीनै विभागसँग सूक्ष्म छलफल गरिरहनु भएको छ’, कर्मचारीले भने, ‘अहिले मन्त्रालयको सम्बन्धित सबै विभागलाई नजिकबाट बुझ्न र सोहीअनुसार प्रभावकारी काम गर्न यसरी कार्यतालिका बनाउनुभएको हो।’ यसले कामको गतिलाई सकारात्मक प्रभाव पार्ने उनको धारणा छ।

यसैक्रममा मन्त्री पाण्डेले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधवार संयुक्त रूपमा छलफल गर्ने भएका छन्। यसका लागि तयारी गर्न मन्त्री पाण्डेले मन्त्रालयका सचिव डा. गणेशप्रशाद पाण्डेय र महाशाखा प्रमुखलाई निर्देशनसमेत दिइसकेका छन् । यस्तै मन्त्री पाण्डेले सरकार र कर्मचारीबीचको सुमधुर र पारदर्शी सम्बन्धले मात्रै समग्र मुलुकको  विकास हुने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी मन्त्री पाण्डेले देशमा पद्धति नबस्दा जनताले दुख पाएको बताउँदै पद्धतिसंगत ढंगले काम गर्न कर्मचारीलाई हतोत्साहन होइन, प्रोत्साहन र उत्प्रेरणा दिनुपर्नेमा जोड दिएका छन्। साथै मन्त्रीको कार्यभार सम्हाल्दै गर्दा आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्ने र सुशासन स्थापना लागि काम गर्ने अठोट समेत व्यक्त गरेका छन्।

मन्त्रालयको सम्हालेको करिब महिना दिन पुग्नै लाग्दा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको सुधारका लागि प्रारम्भिक चरणमा समयसापेक्ष खाका बनाउन लागिपरेको स्वकीय सचिव  तालबहादुर रावलले बताए। प्रारम्भिक चरणमा मन्त्रालयसँग सम्बन्धित सबै निकाय, क्षेत्र, विभाग, पूर्वमन्त्री, पूर्वसचिवहरू, सम्बन्धित विज्ञ तथा जानकारहरूसँग मन्त्रीले छलफल गरेर सुझाब लिइरहेको र आफूले पनि अध्ययन गरिरहेको बताए।

मन्त्री पाण्डेले केही समय अघि मन्त्रालयमा विगतका वर्षहरूमा कुन– कुन विषयमा के काम र कसरी भए भन्ने विषयमा पनि जानकारी लिएका थिए। यसै क्रममा उनले आफ्नो काम प्रभावकारी रूपमा गर्नका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल इतिहास, संस्कृति, तथा पुरातत्त्व केन्द्रीय विभागको विभागीय प्रमुख तथा सहप्राध्यापक डा. महेशकुमार आचार्यसँग पनि छलफल गरेका थिए।

यसै क्रममा मन्त्री पाण्डे हवाई उड्डयनको क्षेत्रमा निकै गम्भीर भएको बताएका थिए । सोही क्रममा गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। उनले यो एकदमै प्राविधिक क्षेत्र भएको र यससँग जोडिएका धेरै निर्णय तथा कामहरूमा अन्तरद्वन्द्व रहेकाले मन्त्री पाण्डेले हवाई उड्डयनको काम र जिम्मेवारीको विषयमा पनि गहन छलफल र अध्ययन गरिरहेको बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पाण्डेलाई गत असार ३१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शपथ गराएसँगै उनले पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रलाई सकेसम्म नजिकबाट नियालिरहेका छन्।

प्रकाशित: २२ श्रावण २०८१ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App