सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले सोमबार एक विशेष कार्यक्रमका बीच मुख्यमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेश प्रमुख मियाँले सोमबार नै नवनियुक्त मन्त्रीलाई तथा मुख्यमन्त्री शाहले राज्यमन्त्रीहरुलाई पनि शपथ गराए। नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको सरकारमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी सहभागी भएका छ । योसँगै मुख्यमन्त्री शाहको १० सदस्य मन्त्रीमण्डल बनेको हो।
एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्र पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिरा सार्की र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापाले शपथ ग्रहण गरेका हुन्।
यस्तै कांग्रेसबाट आर्थिक मामिला मन्त्रीमा बहादुर सिंह थापा र सामाजिक विकास मन्त्रीमा मेघराज खड्का तथा नागरिक उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा लक्ष्मण किशोर चौधरीले शपथ लिएका छन्।
एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँद, आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्काले पनि सोमबार नै गोपनीयताको शपथ खाएका छन्। उनीहरु सबैले सोमबार नै कार्यभार सम्हालेका छन्।
प्रकाशित: २१ श्रावण २०८१ १७:०३ सोमबार