कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पूर्ववर्ती सरकारले सुरु गरेका कामहरूमा बजेट विनियोजन नगरे कोशी सरकार विरुद्ध संघर्ष थाल्ने चेतावनी दिएका छन्।
बुधबार पत्रकार सम्मेलन गरी पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले सुरू गरेका कामहरूलाई अहिलेको सरकारले निरन्तरता नदिए कोशी सरकार विरुद्ध कडा सङ्घर्षमा उत्रने चेतावनी दिएका हुन्।
पूर्व मुख्यमन्त्री कार्कीले अहिलेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रतिशोध राखेर अघिल्लो सरकारले सुरू गरेका जनपक्षीय कामको बजेट कटौती गरेको आरोप लगाए। उनले अहिलेको सरकारले सेटिङ मिल्ने योजनाहरूमा बजेट हालेर जनतालाई लाभ हुने योजना कटौती गरेको दाबी गरे।
कार्कीले भने,‘जहाँ–जहाँ सेटिङ मिल्यो त्यहाँ –त्यहाँ यो सरकारले बजेट राखेको छ। तर, जनतालाई प्रत्यक्ष फाइदा हुने कार्यक्रमको बजेट भने कटौती गरिएको छ।’ मुख्यमन्त्री कार्कीले अघिल्लो सरकारले सुरू गरेको दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, जसको जङ्गल उसको मंगल ‘जनावरमैत्री जङ्गल’ अभियान, महिला स्वयं सेवीकालाई प्रोत्साहन कार्यक्रम, केशलिया कोरिडोर निर्माण योजनालाई कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।
यस्तै शैलजा आचार्य हृदयरोग केन्द्र स्थापना तथा सञ्चालन, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम सुकुम्वासीलाई जग्गा खरिदमा व्याज अनुदान र प्रदेश सगरमाथा दिवसका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन्। आफ्नो सरकारको पालामा सुरू गरेका लोकप्रिय कार्यक्रममा आवश्यक बजेट विनियोजन नगरे सरकार विरुद्ध कडा संघर्ष थाल्ने स्पष्ट पारे। कार्कीले भने,‘सरकार अविच्छिन्न उत्तरदायी संस्था भएकाले मानव केन्द्रित विकासका लागि सुरू गरिएका कार्यक्रम त्यही स्वरूपमा अघि नबढाए कडा संघर्ष थाल्छौँ।’
कांग्रेसका सांसद कार्कीले कांग्रेस सरकारमा सहभागी हुँदैछ भनेर सरकारले गरेका नराम्रा कामलाई टुलुटुलु हेरेर सांसदको हैसियतले नबस्ने स्पष्ट पारे।
प्रकाशित: १६ श्रावण २०८१ १८:४८ बुधबार