बुटवल— नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालका वामपन्थीहरू सत्ता र शक्तिको उन्मादबाट छिट्टै स्खलित भएर जाने बताएका छन्। नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको छैठाैँ जिल्ला अधिवेशनको बुधबार बुटवलमा उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता खाँणले सत्ता र शक्तिको उन्माद र दलदलबाट वामपन्थीहरू शक्तिशाली नभइ स्खलित भएर जाने दावी गरेका हुन्।
सरकारका काम कारवाहीले संघीयतालाई उल्टो दिशामा लैजाने संकेत गरेको भन्दै नेता खाँणले प्रधानमन्त्री केपी ओलीले आफू शक्तिशाली बन्न आफ्ना मन्त्री र सचिवका अधिकार खोसेर केन्द्रीकृत गर्ने काम शक्ति विकेन्द्रीकरणको सिद्धान्त विपरित भएको बताए । सरकारका सय दिन पुरा नभएकाले धेरै कमेन्ट नगरेपनि सरकारका काम कारवाहीलाई हेर्दा संघीयतालाई उल्टो दिशामा लैजाने प्रारम्भिक लक्षणहरू देखिइसकेको उनले दावी गरे । वर्तमान सरकारका गतिविधिकै कारण शेयर बजार ओरालो लागेजस्तै मुलुकको अर्थतन्त्र बिग्रिदै गएको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहेका नेता खाँणले जनताको आयस्रोत घट्दै गएको र खाध्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरूको मुल्य वृद्धि हुँदै गएको बताए।
काँग्रेस कमजोर हुँदा राष्ट्रियता तथा लोकतन्त्र पनि कमजोर हुने उल्लेख गर्दै अन्तर्राष्ट्रिय शक्तिहरूले निहीत स्वार्थ पुरा गर्नका लागि काँग्रेसलाई कमजोर बनाउने प्रयत्न गरेको उनको भनाइ थियो। मजदुरहरूको सभालाई सम्बोधन गर्दै नेता खाँणले सरकारको पहिलो प्राथमिकता मजदुर र किसानमा हुनुपर्ने धारणा राखे । मजदुर र किसानका समस्यालाई तत्काल सम्बोधन गर्न माग गर्दै उनले मजदुरको ज्याला न्युनतम मासिक १५ हजार बनाउनु पर्ने बताए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले मजदुरका हक अधिकारका लागि नेपाली काँग्रेस सधै साथमा रहने बताए।
प्रकाशित: १४ चैत्र २०७४ ११:०८ बुधबार