२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपा–रडाको: शक्तिशाली महामन्त्री अब साधारण सदस्य मात्रै

एक महिना लामो ‘समीक्षा यात्रा’बाट फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई असार १२ गते प्रतिवेदन बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनको अन्तिम पेजमा उल्लिखित विषयको अंश हो यो। त्यही वाक्य रहेको अनुच्छेदमा ढकालले अगाडि लेखेका छन्, ‘आगामी राजनीतिक जीवनका लागि यो घातक साबित हुनेछ। तथापि, यो पटक श्रीकृष्णका वाणीभन्दा एउटा धुन मनमा बढी गुन्जियो– म मरे पनि, मेरो देश बाँचिरहोस्, म नरहे पनि मेरो पार्टी बाँचिरहोस्।’

यी वाक्यहरूको आशयअनुसार प्रतिवेदन लेखेकै कारण आफ्नो पद जाने कुराको शंका ढकाल आफैंले गरिसकेको देखिन्छ । सायद त्यतिन्जेल उनले पूर्वाभास पनि पाइसकेको हुनुपर्छ। यस्तो शंका गरेका ढकाल एक साता पनि पार्टीको जिम्मेवारी टिक्न सकेनन्। असार १९ गते बसेको केन्द्रीय समिति बैठकले उनलाई पदीय जिम्मेवारीबाट एक साताका लागि निलम्बन गरेको थियो।त्यसको पनि एक साता बितेसँगै मंगलबार फेरि बैठक बसेर उनलाई बर्खास्त नै गरेको छ। सँगै केन्द्रीय समितिको सदस्यमा समेत उनी नरहने गरी कारबाहीमा परेका छन्। धन्न सभापति रवि लामिछानेको ‘सदाशयता’ पार्टीको सदस्यता जोगिएको बताइएको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिले त ढकाललाई हदैसम्मको (साधारण सदस्यसम्म नरहने गरी) कारबाहीको सिफारिस गरेको थियो। मंगलबारको बैठकपछि पार्टीका सहप्रवक्ता मनीष झाले त्यो कुरा सार्वजनिक गरेका छन्। आयोगको प्रतिवेदनअनुसार ढकालले पार्टी अनुशासनको गम्भीर उल्लंघन गरेको पाइएको बताउँदै सहप्रवक्ता झाले भने, ‘सोबाट पार्टीसमेतलाई पुगेको क्षति विश्लेषण गर्दै केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नेसम्बन्धी सिफारिसलाई ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ६५ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखी महामन्त्री, प्रवक्ता एवं केन्द्रीय समिति सदस्यसमेत पदबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो।’

यद्यपि बैठकमा आयोगले भनेजस्तै ढकाललाई साधारण सदस्य नै नरहने गरी कारबाही गर्ने आवाज उठेको थियो। ‘कहिलेकाहीँ त उहाँको बोलीमा प्रतिपक्षी अन्य विपक्षी दल पनि बोलेजस्तो सुनिन्छ । हुँदाहुँदा उहाँ व्यक्तिगत आक्रमणसमेतमा उत्रिनुभयो,’ बैठकपछि अर्का सहप्रवक्ता रमेश प्रसाईंले भने, ‘त्यसकारण यो अराजकताको दण्ड साधारण सदस्यता नै खारेज हुनुपर्छ भन्ने मलगायत केही साधारण सदस्यको मत थियो।’ यद्यपि पार्टी सभापतिले प्रेम दर्साएको प्रसाईंको भनाइ थियो।

‘मेरो परिवारको सदस्य हो, हामीसँग सुरुदेखि नै सहयात्रामा हिँडेको साथी हो। त्यसकारण सच्चिने मौका दिनुपर्छ भनेर सभापतिज्यूको तजबिजलाई केन्द्रीय समितिले स्वीकार गर्‍यो,’ उनले भने। यद्यपि, त्यो कुरा आफूलाई आश्चर्य लागेको प्रसाईंले बताए।

‘प्रतिवेदनका कारण कारबाही होइन’

बर्खास्तीमा परेका महामन्त्री ढकालले दिएको समीक्षा–यात्राको प्रतिवेदनकै कारण उनी सभापति लामिछाने र रास्वपाको तारो बनेको भन्ने चर्चा छ। तर रास्वपाले भने प्रतिवेदनका कारण कारबाही नभएको भन्दै खण्डन गर्न खोजिरहेको छ। मंगलबार बैठकपछि पत्रकार सम्मेलनमा बोल्ने नेताहरूले त्यो कुराको खण्डन गर्न शब्द खर्चिए।

‘उहाँलाई पार्टीलाई समीक्षा–यात्राको प्रतिवेदन प्रस्तुत गरेका कारण कारबाही गरिएको होइन,’ सहप्रवक्ता प्रसाईंले भने, ‘तर उहाँले कहाँ प्रस्तुत गर्नुभयो प्रतिवेदन ? पार्टी संयन्त्रमा आन्तरिक रूपमा छलफल हुनुपथ्र्यो, विचार विमर्श, मन्थन हुनुपथ्र्यो तर उहाँले त्यो प्रतिवेदन मिडियामा सार्वजनिक गर्नुभयो ।’ त्यसपछि प्रतिवेदनमाथि छलफल गर्न पार्टीको बेैठक बोलाउँदा ‘बैठक लाइभ’ गर्ने विषयमा पनि पार्टीको धारणाभन्दा बाहिर गएको प्रसाईंले दाबी गरे।

‘उहाँले बैठक लाइभ गर्न भन्नुभयो, जसलाई पार्टीका शतप्रतिशत सदस्यहरूले अस्वीकार गर्नुभयो। अस्वीकार गरेपछि उहाँ व्यक्तिगत आक्रमणमा समेत उत्रिनुभयो, पार्टी सभापतिप्रति,’ उनले भने। यी व्यवहारलाई पार्टी सच्याउने मनशायले भन्दा पनि बदनियतपूर्ण मनशायले अराजकता प्रदर्शन गरिएको रूपमा रास्वपाले लिएको छ। प्रसाईंले अगाडि भने, ‘त्यो अराजकताका कारण कारबाही भएको हो । यद्यपि उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदनका कतिपय विषयमा हाम्रो पनि सहमति छ।’

३५ दिने मौका

यता मंगलबारको बैठकले ढकाललाई ३५ दिन पुनरावेदनको मौका दिने निर्णय गरेको बताएको छ । ‘पार्टी विधानको धारा ५७ बमोजिम निजउपर केन्द्रीय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदन दिन सक्ने निर्णय गरियो,’ बैठकको निर्णय सुनाउँदै सहप्रवक्ता झाले भने। पार्टीको उच्चतम लोकतन्त्रको अभ्यासअनुसार यो निर्णय गरिएको केन्द्रीय सदस्य सोविता गौतमले दाबी गरिन्। ‘न्याय निरूपण गर्ने भएकाले चित्त नबुझ्दा जाने ठाउँ भनेर पुनरावेदनको मौका हाम्रो विधानले दिएको छ,’ उनले भनिन्, ‘३५ दिनभित्र कुलिङ पिरियड दिएर कहीँनेर आवेगमा आएर पनि हुन सक्छ, त्यसैले मौका दिएका छौं।’

प्रस्ताव नै स्पष्टीकरण !  

रास्वपाले स्पष्टीकरणको मौकासमेत नदिई ढकालमाथि कारबाही गरेको छ । यसअघि अनुशासन आयोगले उनीमाथि स्पष्टीकरण सोधेको थियो। तर पदाधिकारीलाई सभापतिबाहेकले स्पष्टीकरण सोध्न नसक्ने भन्दै ढकालले सभापतिबाट स्पष्टीकरण सोधिए जवाफ दिने अडान लिएका थिए। तर सभापति लामिछानेले ढकाललाई स्पष्टीकरण सोधेनन्। अहिले कारबाही गर्दा असार १९ गते ढकालले राखेको प्रस्ताव नै स्पष्टीकरण भनिएको सहप्रवक्ता झाले बताए।

‘विधिवत् रूपमा हुनुपर्ने अनुशासन समितिको प्रतिवेदनबमोजिम उहाँले असार १९ गतेको बैठक सुरु हुनुअगावै जुन एउटा साढे ६ पेजको प्रस्तावना सामाजिक सञ्जालमा राख्नुभयो थियो, त्यहीँ प्रस्तावना नै आफ्नो स्पष्टीकरण भयो, त्यही नै रह्यो भनेर पार्टीमा खबर पठाउनुभएको थियो,’ उनले भने । तर प्रश्न सोध्नुअगाडिको प्रस्तावनालाई कसरी स्पष्टीकरण मान्ने भन्ने विषयमा अन्योल रहेको उनले बताए । उनले भने, ‘अर्को कुरा, त्यसमा उहाँको हस्ताक्षर र कसै विशेष व्यक्ति वा समितिलाई वा जिम्मेवार पदलाई सम्बोधन गर्नुभएको छैन। त्यसैले प्रक्रियागत रूपमा पु¥याउनुपर्ने विधि प्रक्रियालाई नपु¥याइएको प्रतिवेदनमा उल्लेख छ।’

‘मुकुल क्लब’बाट रवि बाहिरिए कि ‘रवि क्लब’बाट मुकुल ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बर्खास्तीमा परेका महामन्त्री र प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछानेको क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन्। मंगलबारको पार्टी बैठकले महामन्त्री र प्रवक्ता पदबाट बर्खास्त गरेपछि सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन्। ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ,’ ढकालले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट रास्वपा बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि।’

उता ढकाललाई बर्खास्त गरेपछि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले भने सभापति लामिछाने ‘मुकुल क्लब’बाट बाहिरिएको भन्दै बधाई नै दिएका छन्। उनले विगतमा सभापति लामिछानेलाई ‘बाँधिएको हात्ती’ भएको टिप्पणी गर्दै लेखेका छन्, ‘हात्ती बाँधिएको देख्दा छक्क पर्थेँ । सोच्थें, यति सानो सिक्रीमा कसरी हात्ती बाँधिएर बस्न सक्छ ? त्यस्तै कुरा म रास्वपामा देख्थें। पार्टीको आन्तरिक जीवनमा महामन्त्रीसँग सभापति यसरी नतमस्तक हुनुको कारण खोज्थें, भेट्दिनँ थिएँ।’

विधानअनुसार स्वतन्त्र भएर महामन्त्रीलाई काम गर्न दिनुपर्ने र त्यसको स्वामित्व लिनु नै सभापति लामिछानेका लागि सही हुने आफूले महसुस गर्ने गरेको कार्कीले लेखेका छन्। उनले अगाडि लेखेका छन्, ‘तर महामन्त्रीप्रतिको असीमित लगावले त्यस्तो मात्र देखिन्नथ्यो, सभापतिलाई सिक्रीमा बाँधिएको हात्तीजस्तो देखिन्थ्यो।’ पार्टीभित्रको त्यो सिक्री ‘आज टुटेको’ कार्कीको टिप्पणी छ। 

‘बन्द कोठाको चुकुल खुलेको छ। मुकुल क्लबबाट निस्किएर पूर्ण रूपमा स्वतन्त्र हुने बाटोमा लाग्नुभएकोमा बधाई छ, सभापतिज्यू !’ उनले लेखेका छन्। पार्टीका अन्य सदस्यलाई समेत यहाँभन्दा धेरै आन्तरीक कुरा भन्नुपर्ने समेत कार्कीले उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘महाधिवेशनमा वा पार्टीका औपचारिक कार्यक्रममा भनौंला। अहिलेलाई ढुक्क हुनुहोस्, यो भोग्नैपर्ने थियो। अब नदोहोरिने वातावरण बनाउन बल गरौं।’

प्रकाशित: २६ असार २०८१ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App