९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

भैंसेपाटी निवासमा सर्न थाले मन्त्री

भैंसेपाटीस्थित नयाँ मन्त्री निवासमा मन्त्रीहरू सर्न थालेका छन्। यद्यपि यसको विधिवत् उद्घाटन भने गरिएको छैन।

गत असारको पहिलो साता दुई मन्त्री भैंसेपाटीमा सरिसकेका छन् भने राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे भैंसेपाटीमा चाँडै सर्ने तयारीमा छिन्।

गत असार १ गते स्वास्थ्यमन्त्री प्रदीप यादव र वन तथा वातावरणमन्त्री नवल किशोर साह नयाँ मन्त्री निवासमा सरिसकेका छन्। तर नयाँ मन्त्री निवासमा सरेको तीन हप्ता नबित्दै उनीहरूले बाट राजीनामा दिएका छन्। उनीहरूको राजिनामा समेत स्विकृत भइसकेको छ। यादव र साह पूजापाठ गरी सरेका थिए।

सहरी विकास मन्त्रालय मातहतमा रहेको विशेष भवन आयोजनाका अनुसार राष्ट्रियसभाकी उपाध्यक्ष घिमिरेले एकदुई दिनमै नयाँ मन्त्री निवासमा सर्ने जानकारी गराएकी छन्।

विशेष भवन आयोजनाका प्रमुख मच्चाकाजी महर्जनले नयाँ मन्त्री निवासमा अन्य मन्त्रीहरूले पनि सर्ने जानकारी गराएमा सरसफाइलगायत सबै काम पूरा गरी तयारी अवस्थामा राख्ने बताए। ‘भैंसेपाटीमा करिब–करिब सबै काम सकिइसकेको छ। अरू मन्त्रीहरूले पनि सर्ने जानकारी गराउनुभयो भने सरसफाइलगायतका काम तयारी अवस्थामा राख्ने छौं’, महर्जनले भने। उनका अनुसार अहिले सरसफाइ, बगैंचा निर्माण, सुरक्षाकर्मी बस्ने कोठा व्यवस्थापनलगायतका काम भइरहेका छन्।

भैंसेपाटीमा सबै मन्त्रीहरू सरिसकेपछि विशेष भवन आयोजनाले भव्य कार्यक्रम गरी विधिवत् रूपमा उद्घाटन गर्ने तयारी गरेको छ। उद्घाटन गर्ने मौका सम्भवतः केपी शर्मा ओलीले पाउने छन्। पाँच वर्षअगाडि उनले नै नयाँ मन्त्री क्वारटको शिलान्यास गरेका थिए।

नयाँ मन्त्री निवास बनाउन गत २०७६ कात्तिकमा केसी–समानान्तार जेभी व्यावसायिक कम्पनीसँग सम्झौता भएको थियो। सम्झौता दुई वर्षभित्र काम सक्ने गरी गरिएको थियो। तर पटकपटक म्याद थप गर्दै निर्माण प्रक्रिया लम्बिएको छ। अहिले अन्तिम चरणको काम भइरहेको आयोजनाले जनाएको छ।

पहिलो चरणको कामका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रूपैयाँ छुट्याएको थियो। त्यसपछि हरेक वर्ष यस कामका लागि सरकारले बजेट छुट्टयाउँदै आएको छ। सुरुदेखि अहिलेसम्म सबै काम पूरा गर्न तीन अर्ब रूपैयाँको हाराहारीमा खर्च भएको जनाइएको छ। आन्तरिक साजसजावट पूरा भइसकेको आयोजनाले जनाएको छ।

भैंसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रियसभाका उपाध्यक्ष तथा प्रतिनिधिसभाका उपसभामुख बस्नेछन्। यसका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण गरिएका छन्।

मन्त्री निवासको कुल जग्गा ९६ रोपनी १० आना छ। प्रत्येक भवनले करिब सात आना जग्गा ओगटेका छन्।

आयोजनाका अनुसार मन्त्री आवासमा जिम हल, पौडी पोखरी, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने व्यवस्था मिलाइएको छ। प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा छुट्याइएको छ। त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा (सामान्यतया १५ जना व्यक्ति अटाउन सक्ने), निजी कोठा र स्वकीय सचिव बस्ने कोठा व्यवस्था गरिएको छ।

दोस्रो तलामा आवासका लागि कोठा छुट्याइएको छ। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि बनाइएको छ। मन्त्री निवास नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको छ। पुल्चोकमा बनेको पुरानो मन्त्री निवासमा सबै मन्त्री बस्न ठाउँ अपर्याप्त भएकाले सरकारले नयाँ मन्त्री निवास बनाउन थालेको हो। सबै मन्त्रीहरू नयाँ मन्त्री निवासमा सरे भने पुराना मन्त्री निवासमा सर्वोच्चका न्यायाधीशका लागि आवास गृह बनाउने सरकारी तयारी छ।

प्रकाशित: २५ असार २०८१ ०९:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App