१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीलाई बालेनको प्रश्न: ‘ठुलो दुर्घटना कुर्दै बस्ने हो ?’

अविरल वर्षाका कारण शनिबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रहरू डुबानमा परे।

राजधानीका विभिन्न नदी र खोलाहरूमा जलस्तर बढेसँगै यहाँका सुकुम्वासी बस्ती नराम्ररी प्रभावित बने।

बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा रहेका थुप्रै टहरा डुबानमा परे।

यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले शनिबार साँझ सामाजिक सञ्जालमा एक स्ट्याटस लेखेका छन्। उक्त पोस्टमा उनले केही घण्टाकाे वर्षामै अधिकांश बस्ती डुबानमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रमुख शाहले खोलाले बस्तीमा पसेको नभएर आफ्नो बाटो आफैंले खोजेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, "आज एक दिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ?"

उक्त पोस्टमा प्रमुख शाहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेका छन्। उनले अध्यक्ष ओलीलाई "ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो?" भन्दै प्रश्न तेर्साएका छन्। 

"उहाँहरू (सुकुम्वासी) को जीवनसँग खेलबाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो?" उनले अध्यक्ष ओलीलाई प्रश्न गरे।

प्रमुख बालेनले प्रभावित स्थानीयको उचित व्यवस्थापनमा पनि जोड दिएका छन्।

"तपाईंले पचाउन खोज्नुभएको गिरीबन्धुमा यस्ता १५,००० परिवार व्यवस्थापन हुन सक्छ," उनले लेखेका छन्, "अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित। अब यो समस्याको समाधान गर्नुहुनेछ भन्ने आशा लिएको छु।"

अन्त्यमा उनले समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए।

नदी किनारमा दुई दशकभन्दा बढी समयदेखि बस्दै आएको सुकुम्वासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाका लामो समयदेखि प्रयास गर्दै आइरहेको थियो। तर ती प्रयासहरू विफल हुँदै आइरहेकाे छन्।

राजनीतिकै कारण महानगरका ती प्रयासहरू विफल भइरहेको उनकाे यस स्ट्याटसबाट अनुमान गर्न सकिन्छ।

प्रकाशित: २२ असार २०८१ २३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App