१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदबाटै अमरेशको उक्साहटः कवाड लगेर बालेनको घर र महानगरमा फाल्नुस्

बालेनमाथि हिटलर बन्न खोजेको आरोप

स्वतन्त्र सांसद अमरेशकुमार सिँहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई हिटलर बन्न खोजेको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिँहले मेयर बालेनले पपुलिजमको आडमा न्यायलाई नै निषेध गर्न खोजेको आरोप लगाएका हुन्।

काठमाडौँमा आन्दोलनरत कवाडी व्यवसायीमाथि दमन भएको भन्दै सांसद सिंहले बालेनविरुद्ध अभिव्यक्ति दिएका हुन्।

‘मधेसका कवाडी व्यवसायीहरू आन्दोलनरत छन्। जबकि कानुनी रूपले पनि सही छन्। यही पाटन अदालतबाट दुईवटा अन्तरिम आदेश, निषेधाज्ञा जारी छन् कि उनीहरूको कवाडीलाई नहटाऊ,’ सांसद सिँहले भने,‘शान्तिपूर्ण आन्दोलन गर्दा खेरी एकाएक लाठी चार्ज भो।’

उक्त घटना रङ्गभेद र जातिभेदको उदाहरण रहेको सांसद सिँहले दाबी गरे। उनले भने, ‘यही बानेश्वरमा एउटा वर्गले आन्दोलन गर्दा खेरी पानीको फोहरा त्यहाँ केही हुँदैन, चाहे १० सैँ जना भएपनि । तर मधेसको मान्छे देख्नै नहुने काठमाडौँमा यो कस्तो रणनीति हो सरकारको ?’

प्रहरीको लाठीबाट दर्जनौँ कवाड व्यवसायी घाइते भएको पनि सांसद सिँहले संसदमा उठाए। ‘मैले फोटो पनि सभामुख ज्युलाई देखाएँ। कति रक्ताम्मे छ, सैकडौं जोडी चप्पल एभरेस्ट होटेलका अगाडि छुटेर राखेको छ,’ उनले भने। उनले ती घाइतेको उपचार ट्रमा सेन्टरमा भइरहेको र उनीहरूको उपचार निःशुल्क गर्न सरकारसँग माग गरे।

सांसद सिँहले मेयर बालेनले ‘काठमाडौँलाई रणमैदान बनाउन खोजेको’ पनि दाबी गरे। यस्तै सांसद सिँहले कवाड व्यवसायीलाई मेयर बालेनले सिकाएजस्तै कवाड लगेर काठमाडौं महानगर र बालेनकै घरमा लगेर फालिदिन सुझावसम्म दिन भ्याए।

‘बालेनजीले सिकाएको छ, काम भएन भने फोहोर थुपार्ने १ सडक विभाग अगाडि थुपार्नुभएछ,’ उनले भने, ‘संसद्मार्फत तमाम कवाडीलाई सबै कवाडी महानगर र बालेन साहको घर अगाडि थुपारौँ त्यसको लागि हामी साथ दिन्छौँ। किनभने टिट फर ट्याट, उहाँले नै सिकाउनुभएको हो।’

पपुलिजमका नाममा दुनियाँमा तानाशाह जन्मिएकाले बालेन पनि त्यही बाटोमा रहेको पनि सांसद सिँहको आरोप छ। उनले भने, ‘हिटलर पनि निर्वाचित नै थिए। तर हिटलरका कारण जर्मनीको के हाल भो रु’

कवाड व्यवसायीमाथि प्रहरी दमनको घटनामा सभामुखबाट रुलिङको माग गर्दै सांसद सिँहले गृहमन्त्रीको जवाफ मागेका छन्।

प्रकाशित: ५ असार २०८१ १२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App