१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

घरघरमा सिंहदरबारको सट्टा भ्रष्टाचार: विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित)ले संसद सदस्यको काम ठेक्कामा लाग्ने होइन, नीति बनाउने विषयमा जोड दिनुपर्ने बताएका छन्। नीति बनाउनुपर्ने सांसद विकास निर्माणमा जुटेकै कारण संघीयताको कार्यान्वयनमा समस्या आएको उनले बताए।

कानुन अध्ययन समाज–नेपालको आयोजनामा सोमबार संघीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक विचार गोष्ठीमा उनले देशका तीन वटै तहमा १० प्रतिशतभन्दा कम मान्छेले मात्र राजनीतिक र संघीयताको विषयमा बुझेको अनुमान गरे। चुनावका लागि प्रशस्त छलफल गर्ने समय दिएको भए बहुसंख्यक जनता सचेत हुने उनको भनाई थियो। देशका नेताहरू नै मूर्ख भएकाले विदेशीको इशारामा देश चलेको भनाई उनले राखे।

नेपालमा राजनीतिक संस्कार नै नभएकाले भ्रष्टहरूको जमातले चलाएको देश चालक विनाको गाडी बनेको उनको विश्लेषण थियो। बनेका कानुनलाई लागु गराउने संस्था आवश्यक रहेको बताउँदै उनले नैतिकता हराएका बेइमान कानुन व्यवसायीका कारण जनतालाई थप पीडा थोपरेको बताए।

उनले राजनीतिक कार्यकर्ता र संसद सदस्यले पेन्सन लिन नहुने बताए । देशको लागि राम्रा, इमानदार र कर्तव्यनिष्ठ कानुनविद्को आवश्यकता कोट्याउँदै उनले हरेक कुरामा आलोचनात्मक रुपमा हेर्न र सभ्यता देखिकै इतिहासको अध्ययन गर्न जोड दिए। उनले ठुला अपराधीहरूले सरकार चलाएको हुँदा घरघरमा सिंहदरबारको सट्टा भ्रष्टाचार दिएको स्पष्ट पारे। साथै दुई चार पैसामा कानुन व्यवसायीहरू बिकेकै कारण बहुसंख्यक जनताले दुःख पाएको बताउँदै उनले समाज बदल्ने काममा लाग्न जोड दिए।

समाजका संस्थापक अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले संघीयता अहिले देशको लागि घाँडो भएको बताए। कार्यक्रममा आयोजक समाजका अध्यक्ष अधिवक्ता रामप्रसाद प्रजापतिले संघीयता कार्यान्वयनको उपादेयता विषयमा र अधिवक्ता मनज ज्याख्वले चुनौती विषयमा प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा अधिवक्ता शिवराज दाहाल, अधिवक्ता राधेश्याम सुवाल, अधिवक्ता राजेन्द्र सुवाललगायतले कानुनका विविध विषयमा चर्चा गरेका थिए।

प्रकाशित: ३ असार २०८१ २०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App