४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा एसकाे सङ्गठित सदस्य संख्या एक लाख पचास हजार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ।

पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने  जानकारी दिए।

राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनौट गर्नेछ। पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनौट गर्ने उनले जनाए।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन्। विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन् भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ।

पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनौटका लागि सङ्ख्या निर्धारण गरिएको छ। यही असार १६ देखि २० गतेसम्म पार्टीको दसौँ महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभक्त भएको पार्टीले आसन्न महाधिवेशनलाई दसौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ।

विसं २००६ मा कोलकातामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी आफूलाई मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिएर अब हुने राष्ट्रिय महाधिवेशनलाई दसौँ मानेको हो।

प्रकाशित: १ असार २०८१ १६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App