जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजन नभएको दाबी गरेका छन्। शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले पार्टीमा कुनै विभाजन नभएको स्पष्ट पारे।
अध्यक्ष यादवले राज्यको स्रोत, साधन, र शक्ति प्रयोग गरेर केही सांसदहरूलाई छुट्याइए पनि पार्टी अझै यथावत् रहेको बताए।
उनले केही नेताहरुलाई राज्यले मोहरा बनाएर छुट्याउनुलाई विभाजन भन्न नमिल्ने तर्क गरे। यादवले कुनै राजनीतिक वा सैद्धान्तिक मतभेद नभएको भन्दै,मन्त्री बन्न र धन कमाउन नेताहरु छुट्यिएको उल्लेख गरे।
उनले निर्वाचन आयोगलाई घोक्र्याएर जसपा नेपाललाई एकै दिनमा दर्ता गरिएको आरोप लगाए। ‘स्रोत, साधनको दुरुपयोग गरेर, निर्वाचन आयोगलाई घोक्रेठ्याक लगाएर राती निवेदन दिने अनि बिहानै दर्ता गर्ने यस्तो नेपालको इतिहासमा कहिल्यै भएको थिएन,’ यादवले भने ‘सिन्धुलीमा प्रधानमन्त्रीले जसले यो संविधान र लोकतन्त्र रक्षा गर्छु भनेर कसम खाएका थिए, उनले नै जसपा फुटाएको घोषणा गरे। यो अत्यन्त निन्दनीय र गलत कार्य हो।’
यादवले राज्यको स्रोत, साधन र शक्तिको प्रयोगले केही सांसद र नेताहरुलाई मात्र छुट्याइएको दाबी गरे। ‘पार्टी यथावत् नै छ। धनुषामा कुनै मान्छे छैन होला जो गएको हो। पार्टी होइन, केही व्यक्ति छुट्याएर लगेका हुन्। राज्यले हाम्रो पार्टीका केही नेताहरुलाई मोहरा मात्र बनाएको हो, त्यसलाई विभाजन भन्न मिल्दैन,’ उनले स्पष्ट पारे।
उनले नेताहरुको विभाजनको कारण मन्त्री बन्ने इच्छा र धन कमाउने उद्देश्य रहेको बताए।
अध्यक्ष यादवले आगामी दिनमा संघीयता तथा समावेशिता पक्षधरहरूसँग सहकार्य र गठबन्धन हुनसक्ने बताए।
प्रकाशित: २६ जेष्ठ २०८१ १७:५७ शनिबार





