१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जनमतमा असन्तुष्टि

मधेस प्रदेशको मुख्यमन्त्री जनमत पार्टीले पाउने सहमति भएपछि संसदीय दलका नेता महेश यादवले बधाई पाउन थालिसकेका थिए। संसदीय दलको नेता नै मुख्यमन्त्री हुने प्रचलन भएकाले उनलाई बधाई आउनु स्वाभाविक पनि थियो। केन्द्रमा पनि संसदीय दलको नेता नै प्रधानमन्त्री हुने चलन छ। यो परम्पराजस्तै भइसकेको छ। त्यसैले यादव आफू मुख्यमन्त्री हुनेमा ढुक्क थिए। तर परिस्थिति उल्टो भयो।

यादव मात्र होइनन्, जनमतकै केन्द्रीय महासचिव चन्दन सिंह पनि मुख्यमन्त्रीका दाबेदार थिए। उनी जनमतका केन्द्रीय महासचिव पनि हुन्। त्यसैले उनको पहुँच सोझै नेतृत्वसँग थियो।

यसैगरी पूर्वप्रदेशमन्त्री वसन्त कुशवाह पनि मुख्यमन्त्री पाउनेमा भित्रभित्रै आशावादी थिए। तर यी तीनैजनालाई पछि पार्दै सतिशकुमार सिंहले मुख्यमन्त्री पद हात पारे।

जनमत पार्टीका एक नेताका अनुसार सतिशलाई मुख्यमन्त्री बनाउन पार्टी अध्यक्ष सिके राउतको हात छ। तर सतिशलाई मुख्यमन्त्री बनाइएकोमा पार्टीभित्र भने व्यापक असन्तुष्टि देखिएको छ।

सतिश लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सांसद शेखर सिंहका छोरा हुन। सतिश २०७९ सालको स्थानीय चुनावसम्म लोसपाकै कार्यकर्ता थिए। २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

दोस्रोपटक २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा उनी फेरि उक्त गाउँपालिका अध्यक्षका उम्मेदवार बने तर पराजित भए। प्रदेशसभाको निर्वाचनको सँघारमा उनी जनमत पार्टीमा प्रवेश गरे। छोरालाई यस्तो सल्लाह दिने काम उनकै बुबा ले गरेको लोसपाका एक नेताले बताए।

२०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा सिंह जनमत पार्टीबाट सप्तरी २ (क) बाट विजयी भएका हुन्। जनमतमा प्रवेश गरेको दुई वर्ष नपुग्दै उनी मुख्यमन्त्री भएका छन्। यही कारण पार्टीभित्र असन्तुष्टि बढेको हो। ‘अध्यक्षज्यूले किन उहाँ (सतिश) लाई मुख्यमन्त्रीमा छान्नुभयो, हामीले बुझ्न सकेका छैनाैं। तर यो निर्णयबाट पार्टीभित्र इमानदार तथा त्याग गरेका कार्यकर्तालाई न्याय भएको छैन,’ जनमतका एक केन्द्रीय नेताले भने।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवले भने सहमतिबाटै सतिशतलाई मुख्यमन्त्रीमा चयन गरिएको बताए। ‘पार्टीभित्र कुनै विवाद र असन्तुष्टि छैन। ‘पार्टीभित्र मुख्यमन्त्रीमा चार सांसद आकांक्षी हुनुहुन्थ्यो। आकांक्षीमध्येबाटै सहमतिमा मुख्यमन्त्री छानिएको हो,’ उनले भने।

यसअघि मधेस प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार यादव थिए। जनमतका अध्यक्ष राउतले यादव समुदायका नभई अर्को समुदायका भएकाले सितशलाई मुख्यमन्त्री छानेको आकलन गरिएको छ। पछिल्लो समय जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राउतबीचको सम्बन्ध पानी बाराबारको अवस्था छ।

प्रकाशित: २६ जेष्ठ २०८१ ०६:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App