१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बंगलादेशी सांसद हत्या आरोपी हुसेनलाई भारत पठाइँदै

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपमा पक्राउ परेका बंगालदेशी नागरिकलाई भारत पठाउने तयारी थालिएको छ। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेपछि बंगालदेश प्रहरीले आफूलाई जिम्मा लगाउन गरेको आग्रहलाई अस्वीकार गर्दै भारततर्फ पठाउने तयारी गरेको हो।

‘हुसेन भारतबाट नेपाल छिरेका र अपराध पनि भारतमै गरेका कारण उनलाई उतै माग्नुस्, हामी प्रक्रिया पूरा गरेर पठाइदिन्छौं,’ बंगलादेशबाट आएको प्रहरी टोलीलाई नेपाल प्रहरीको जवाफ थियो।

नेपाल प्रहरीले सियाम हुसेनलाई विमानस्थलबाट पक्राउ गरेको भनेर भारततर्फ ‘डिपोर्ट’ गरिदिने वा केही दिन अनुसन्धान लागि अदालतबाट समय लिएर राख्ने त्यसपछि भारततर्फ पठाउने तयारी थालेको हो। ‘यसअघि गुपचुपमै डिपोर्ट गर्ने वा भारतीय प्रहरीलाई जिम्मा लगाउने गरिन्थ्यो, अहिले हल्ला भएपछि प्रक्रिया पुर्‍याउन लागिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। यो विषयमा प्रहरीले आधिकारिक रूपमा केही बताउन चाहेको छैन।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले यो विषयमा नेपाल प्रहरीलाई जानकारी नभएको बताए। ‘मलाई जानकारी छैन। बंगलादेशबाट प्रकाशित हुने पत्रपत्रिकामा समाचार आएको देखेथें। अरू केही थाहा भएन,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कार्कीले भने।

बंगलादेशका सांसदको हत्या आरोप लागेका हुसेन नेपालको सीमा क्षेत्रबाट बिहीबार राति पक्राउ परेका थिए। नेपाल प्रहरीको उच्च स्रोतले भन्यो, ‘उनी (बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेन) पक्राउ परेको सत्य हो। उनी सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। उनलाई बंगलादेश नपठाउन भारतको उच्च तहबाट समेत नेपाल प्रहरीलाई आग्रह गरिएको स्रोतले बतायो। भारतीय गृह मन्त्रालयका एक अधिकारीले नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरलाई हुसेनलाई पक्राउ गरी राम्रो काम गरेको भन्दै धन्यवादसमेत दिइसकेका छन्।

हुसेनलाई लिन बंगलादेशबाट नेपाल आएका प्रहरीले कूटनीतिक पहल गरिरहे पनि त्यो असफल भएको छ।

नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि नभएको भन्दै पक्राउ परेका हुसेनलाई बंगलादेश पठाउन नसकिने जवाफ नेपाल प्रहरीले दिएको हो। नेपालमा पक्राउ परेका हुुसेनलाई सिधै बंगालदेश पठाउँदा त्यहाँको कानुनअनुसार मृत्युदण्ड हुने भएकाले पनि नेपाल प्रहरी हच्किएको हो।

‘यो घटनामा संलग्नलाई क्रिमिनल कन्स्पाइरेसी एक्टअनुसार कारबाही हुन्छ। त्यसकारण पनि हामीले बंगलादेशलाई भन्दा भारतबाट आएका नागरिक भएकाले उतै पठाउँदा ठिक हुन्छ भन्ने लागेर तयारी गरेका हौं,’ नेपाल प्रहरीका एक अधिकृतले भने।

नेपाल–भारतका प्रहरीबीच अनौपचारिक रूपमा लामो समयदेखि अपराध नियन्त्रणमा सहकार्य हुँदै आएको र अपराधी पनि लेनदेन हुँदै आएकाले यसमा नेपाल–भारतको रुचि मिलेको स्रोतको दाबी छ।

बंगलादेशी सांसदको कोलकातामा हत्या भएकाले पनि भारततर्फ पठाउन सहज हुने प्रहरीले ठानेको स्रोतको दाबी छ। उनलाई लिन भन्दै महानगरीय प्रहरी कार्यालय ढाकाअन्तर्गतको डिटेक्टिभ ब्रान्च (डिबी) बाट चार सदस्यीय टोली काठमाडौं आएको छ। सो टोलीले नेपाल प्रहरीका उच्च अधिकारीसँग भेटघाट गरेर डिपोर्ट गरिदिन आग्रह गरेका थिए। तर नेपाल प्रहरीले उनलाई पठाउन अस्वीकार गरिदिएको छ।

हुसेन सांसद हत्या आरोपित रहेको थाहा पाएपछि उनलाई विशेष निगरानीका साथ प्रहरी हिरासतमा राखेको छ। बंगलादेशका सांसद अनारको मे २२ मा भारतको कोलकातामा हत्या भएको थियो। उनको हत्यामा संलग्न भएको आरोपमा भारतीय प्रहरीले केहीलाई पक्राउ गरिएको र केही संदिग्ध व्यक्ति फरार रहेको जनाइएको थियो।

हत्या आरोपमा तीनजना बंगलादेशी र एक भारतीय पक्राउ परेको भारतीय समाचार संस्थाले जनाएका छन्। तर हत्यामा संलग्न भनिएका हुसेनसहित अन्य चारजना फरार रहेको भारतीय समाचार संस्थाले जनाएका छन्। हुसेन भने नेपालमा पक्राउ परेको प्रहरी स्रोतको दाबी छ।

बंगलादेशका सांसद अनारको हत्या आरोपित केही व्यक्ति भारतमै पक्राउ परेको र केही नेपाल पसेको भारतीय गुप्तचर संस्थाहरूले जनाएका थिए। त्यसकै आधारमा नेपाल प्रहरीले संदिग्ध व्यक्तिहरूमाथि निगरानी बढाएको थियो। सियान नेपालमा पक्राउ परेपछि शुक्रबार र शनिबार नेपाल प्रहरीको विशेष ब्युरोले सर्च अप्रेसन नै चलाएको थियो। ‘आशंकित स्थानमा सर्च गरिएको हो। दरबारमार्ग, सुन्धरा, ठमेललगायत स्थानमा सर्च अप्रेसन चलाइएको हो,’ विशेष ब्युरो स्रोतले भन्यो।

हत्या आरोपमा भारतमा पक्राउ परेका जिहाद हवलदारले भारतीय प्रहरीलाई शव टुक्राटुक्रा पारेर फालेको बयान दिएका थिए। बंगलादेशको गुप्तचरी निकायका अधिकारीले सांसद अनारले अमेरिकी साथी र मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करी धन्दा चलाएको आशंका गरेका छन्। उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गर्थे।

गत वर्ष अनार र अख्तरुज्जमानबीच तस्करीको सुनको हिस्सालाई लिएर विवाद भएको थियो। त्यसपछि उनीहरूबीचको मित्रतामा दरार आएको थियो। अख्तरज्जमान पनि सांसद अनार हत्याका आरोपित हुन्। बंगलादेश प्रहरीले अनारको हत्यामा थप प्रभावशाली व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ। अमेरिका पुगेका हत्या आरोपित अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेश प्रहरीले इन्टरपोलको सहयोग लिने जनाएको थियो। तर अहिलेसम्म अदालतमा अख्तरज्जमानको मुद्दा नपुगेकाले रेड नोटिस जारी हुन सकेको छैन।

समाचार एजेन्सी पिटिआईका अनुसार बंगलादेशी प्रहरी र डिटेक्टिभ ब्रान्चका अधिकारीहरू घटनाको अनुसन्धान गर्न कोलकाता गएका थिए। त्यहाँ उनीहरूले हत्या आरोपमा पक्राउ परेका हवलदारसँग सोधपुछ गरेका थिए। यसअघि शनिबार सिआइडीले गिरफ्तार अभियुक्त हवलदारलाई उद्धृत गर्दै सांसद अनारको फ्ल्याटमा प्रवेश गरेको १५ मिनेटभित्रै सम्पूर्ण घटना भएको बताएको थियो। उनलाई बेहोस बनाउन क्लोरोफर्म प्रयोग गरिएको थियो। यसपछि उनको सिरानीको सहाराले हत्या गरिएको हवलदारले बयानमा बताएका थिए।

अनारको शवलाई चक्कु र ब्लेडको सहायताले टुक्राटक्रा पारेको बयान पनि हवलदारले दिएका थिए। हत्याराले शवका टुक्राहरूलाई प्लास्टिकको झोलाले बेरेर सुटकेसमा राखेर लगेको सिआइडीले जनाएको छ।

सांसद अनार मे १७ मा बेपत्ता भएका थिए। त्यही क्रममा बंगलादेश सरकारले उनको हत्या भएको घोषणा गरेको थियो। मे २२ मा फरेन्सिक टोली कोलकातामा उनको फ्ल्याटमा पुगेको थियो। त्यहाँ जुत्ताको छेउमा र ड्रइङ रुममा रगतको दाग भेटिएपछि उनको हत्या पुष्टि भएको थियो। त्यस क्रममा फ्ल्याटबाहिरको सिसिटिभी फुटेज पनि हेरिएको  थियो। सिसिटिभी फुटेजमा हवलदारसहित दुईजना प्लास्टिकको झोला र सुटकेस बोकेको  अवस्थामा देखिएका थिए।

अनार उपचारका लागि मे १२ मा कोलकाता पुगेका थिए। भोलिपल्ट उनले आफ्नो परिवारलाई दिल्ली जाँदै गरेको बताएका थिए। त्यसयता उनी सम्पर्कमा थिएनन्। त्यसपछि कोलकाता प्रहरीले उनको शव फेला पारेको थियो।

प्रकाशित: २१ जेष्ठ २०८१ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App