१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस एमाले मिलेर सरकार गठन हुँदैन : एनपी साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले नेकपा एमालेसँग मिलेर सरकार गठनको सम्भावना नरहेको बताएका छन्। उनले कांग्रेसको मुख्य प्रतिष्पर्धीनै एमाले भएकाले एमालेसँग सहकार्य गरेर सरकार नबन्ने बताए।

उनले अहिले सरकार बनाउने खेलमा भन्दा कांग्रेस प्रजातान्त्रिक एलायन्स बनाउनेतर्फ अग्रसर भएको बताए। ‘आफ्नो प्रतिष्पर्धी पार्टीसँग सहकार्य गरेर सरकारमा जाने कुरा हुँदैन,’ शनिबार सुर्खेतमा आयोजित कार्यक्रममा उनले भने, ‘अहिलेको अवस्थामा प्रजातान्त्रिक विकल्प तयार गर्नेतर्फ हाम्रो ध्यान केन्द्रीत छ।’

उनले कम्युनिष्ट पार्टीहरू आउने निर्वाचनमा ध्रुवीकरण हुने भएकाले कांग्रेसले अहिलेदेखि नै प्रजातान्त्रिक एलायन्स बनाउनेतर्फ अग्रसर हुने बताए।

कांग्रेस केन्द्रीय सदस्य साउदले माओवादीले धोका दिएर एमालेसँग सहकार्य गरेकाले उसँग पनि सहकार्यको संभावना नरहेको बताए। ‘कांग्रेसलाई विश्वासघात गरेर माओवादीले एमालेसँग गठबन्धन बनाएको हो, यो कुराको हेक्का राख्नुपर्छ,’ उनले भने। उनले संसदमा रहेका कुनै पनि शक्तिहरूलाई निषेध गर्ने मनसाय कांग्रेसको नरहेको बताए।

उनले अहिलेको संरचना अनुसार कुनै पनि दलको एकल बहुमत नआउने भएकाले सहकार्य र गठबन्धनको संस्कृति अनिवार्य रहेको बताए। ‘कुनै विशेष परिस्थितिबाहेक अहिलेको संविधानको संरचनाले कुनै एक दललाई एकल बहुमत ल्याउने सुविधा दिएको छैन्,’ उनले भने, ‘त्यसैले सहकार्य र गठबन्धनको संस्कृति अनिवार्य छ।’

केन्द्रीय सदस्य साउदले कांग्रेसको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी हुनै नसक्ने बताए। उनले नयाँ शक्ति भनिएको पार्टीका नेताहरू इमान्दार नदेखिएको पनि बताए। उनले अहिलेको सरकार बहुमतको बलमा अनियमितता ढाकछोप गर्नेतर्फ अग्रसर भएको बताउँदै कांग्रेसलाई बाइपास गर्न सक्ने अवस्था देशमा नरहेको बताए।

उनले संसदीय समिति कुनै पनि हालतमा नबन्ने भन्दै ठोकुवा गरिरहेकाहरू अन्ततः कांग्रेसको अगाडि घुँडा टेकेको बताए। ‘अब समिति बनेको छ, छानविन हुन्छ दोषीहरूलाई कारवाही हुन्छ,’ उनले भने, ‘हामी दायाँबायाँ हुन दिंदैनौं।’

प्रकाशित: १९ जेष्ठ २०८१ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App