२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन पाइँदैनः खगराज अधिकारी

नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले नवउदारवादी अर्थतन्त्रको नाममा मुठीभर मान्छेलाई धनी बनाउन प्रदेश मतियार बने प्रतिपक्षलाई स्वीकार्य नहुने चेतावनी दिएका छन्।

गण्डकी प्रदेश सभामा विहीबार सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका अधिकारीले यस्तो चेतावनी दिएका हुन्। ‘संविधानले समाजवादको आधार बनाउन भनेको छ,’ उनले भने,‘तर कांग्रेस नेतृत्वको सरकार ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा काटेर अर्कै राख्छ। यसप्रति कटाक्ष गरेर सरकार अगाडि बढ्छ भने त्यो गम्भीर कुरा हो।’ उनले देश नवउदारवादी अर्थतन्त्रको नाममा अगाडि बढाउने, केहि मुठीभर मान्छे धनी हुने र प्रदेश त्यसको मतियार हुने भएमा प्रतिपक्षलाई स्वीकार्य नहुने बताए।   

नेता अधिकारीले गण्डकीका तत्कालिन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले समेत स्वीकार गरेको ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ नारा हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको कांग्रेस सरकारलाई अपाच्य हुनु अचम्मको विषय भएको बताए। उनले चेतावनीयुक्त भाषा प्रयोग गर्दै भने,‘बाटो फेर्नैपर्ने आकांक्षाले हामीलाई फरक पार्छ कि याद राख्नुहोला।’ 

अधिकारीले आफु नेतृत्वको सरकारलाई कांग्रेसले असंवैधानिक भनेकोमा पनि आपत्ति जनाए। तत्कालीन प्रतिपक्षी र अहिलेको सत्तापक्ष कांग्रेसले आफु नेतृत्वको सरकारको बारेमा अफवाह फैलाएको गुनासो गर्दै उनले भने,‘अहिले जुन व्याख्या अनुसार कांग्रेस नेतृत्वमा सरकार बनेको छ। पहिले त्यहि डिभिजन बेञ्चले गरेको व्याख्या अनुसार नै मैलेपनि विश्वासको मत लिएको थिए। तर कांग्रेसले हाम्रो सरकारबिरुद्ध असंवैधानिक भनेर अफवाह फैलायो यसबारे कांग्रेसले समीक्षा गरोस्।’ 

अधिकारीले आफु कांग्रेसले जस्तो हामी देखाई दिने भन्ने पक्षमा नरहेको बताए। ‘म आफु देखाउने हैसियतमा पनि छैन र धेरै भन्ने पक्षमा पनि छैन,’ उनले भने, ‘कसलाई देखाउने हो ? जनता हाम्रा अगाडि छन्। बाटो, पुल पुलेसा बन्या छैन। बेरोजगारी हटेको छैन। औद्योगिक क्षेत्र निर्माण भएको छैन। वित्तीय समानीकरण अनुदानमा संकट आईपरेको छ। त्यसैले यसबारेमा मेरो केहि भन्नु छैन। देखाउने हैसियतमा पनि छैन।’

प्रकाशित: १७ जेष्ठ २०८१ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App