३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकार पेलेरै जान्छ भने कांग्रेस सहेर चाहिँ बस्दैन: सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेसले चुनौती सामना गर्न तयार रहेको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए। सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने उनको भनाइ थियो।

उनले जनताका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे। प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्मा निरन्तर उठाउनुपर्ने बताए।

उनले भने ‘प्रतिपक्षले जनताको आवाज, जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसद्मा निरन्तर उठाउनुपर्छ। प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो। सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो। प्रतिपक्षमा नेपाली कांग्रेस बाहेकका केही दलहरु पनि छन्। प्रतिपक्षले संसद्मा जनताका आवाज उठाइरहेको छ। आवाज बुलन्द गरेको छ। सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ।’

उनले कांग्रेससहितका प्रतिपक्ष दलहरुले संसद्मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए।

सरकार पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने चेतावनी दिए। उनले कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको बताए।

‘सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतीलाई सामना गर्नेछौँ। हामीले भनेका पनि छौँ। सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने कांग्रेस तयार छ। कांग्रेस सहेर त बस्न सक्दैन। कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको छ।’ उनले भने।

नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताए।

प्रकाशित: १३ जेष्ठ २०८१ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App