२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

उपेन्द्र प्रतिपक्षी हुँदा सिके भए सत्तापक्षीय

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव प्रतिपक्षी हुँदा जनमत पार्टीका अध्यक्ष सिके राउत भने सत्तापक्षीय भएका छन्। जनमत पार्टीका ६ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा विश्वासको मत दिएपछि उक्त पार्टी सोमबारदेखि सत्तपक्षीय भएको हो।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने विषयमा सहमति जनाएपछि आफूहरू सत्तापक्षीय बनेको उक्त पार्टीका नेताहरूले बताएका छन्। तर उनीहरूले जे बताए पनि भित्री कारण भने अर्कै छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र प्रतिपक्षमा पुगेकाले जनमत पार्टीका अध्यक्ष राउत सत्तापक्षीय हुन राजी भएका हुन्।

यी दुई नेताको सम्बन्ध २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनदेखि पानी बाराबारको अवस्थामा रहेकाले त्यस्तो अवस्था आएको हो। त्यति बेलादेखि यादव जुन ठाउँमा हुन्छन्, त्यो ठाउँमा राउत बस्न मान्दैनन्। सार्वजनिक कार्यक्रमहरूमा समेत यादव र राउत एकै ठाउँमा हत्तपत्त भेटिँदैनन्।

२०७९ सालमा सम्पन्न निर्वाचनमा सप्तरी–२ मा राउतले यादवलाई पराजित गरेका थिए। २०८० वैशाखमा बारा २ मा सम्पन्न उपनिर्वाचनमा सत्तामा बसेका तत्कालीन सबै दलले यादवलाई साथ दिए पनि राउतले आफ्नै उम्मेदवार उठाए। जबकि त्यतिबेला राउतको पार्टी सत्ता गठबन्धनमा सामेल थियो। यादवलाई पराजित गर्न राउत एक महिना बारामै बसेका थिए। त्यतिबेला पनि यादव जनमत पार्टीका उम्मेदावरबाट झन्डै पराजित भइसकेका थिए।

केन्द्रमा यादव र राउतबीच सम्बन्ध बिग्रेझैं मधेसमा पनि जसपा नेपाल र जनमत पार्टीका कार्यकर्ताहरूबीच सम्बन्ध राम्रो छैन। जसपा नेपालले नेतृत्व गरेको मधेस प्रदेश सरकारबाट ६ महिनाअघि नै जनमत पार्टी बाहिरिसकेको छ। मधेस प्रदेश सरकारले राजविराजमा निर्माण भएको कृषि विश्वविद्यालयको उद्घाटन जसपा नेपालका अध्यक्ष यादवबाट गराउन लगाए।

त्यस कामप्रति असन्तुष्टि जनाउँदै जनमत सरकारबाट बाहिरिएको थियो। त्यतिबेला मधेस प्रदेश सरकारमा शिक्षामन्त्री जनमत पार्टीकै नेता थिए। प्रदेश सरकारका शिक्षामन्त्री अथवा सप्तरीबाट चुनाव जितेका राउतबाट विश्वविद्यालय उद्घाटन गराउनुपर्ने जनमत पार्टीका नेताहरूको माग थियो। तर यादवबाट उद्घाटन गराइएपछि आफूहरूको अपमान भएको बताउँदै जनमतका मन्त्रीहरू मधेस प्रदेश सरकारबाट बाहिरिएका थिए।  

कार्यकर्ता तहमा समेत त्यति बेलादेखि नै बिग्रेको सम्बन्धमा अझै सुधार आएको छैन। यद्यपि जनमत पार्टीका प्रवक्ता शरत्सिंह यादवले जसपा नेपाल प्रतिपक्षी भएको कारणबाटै आफूहरू सत्तपक्षीय भएको भन्ने चर्चा एकदमै गलत रहेको बताए। ‘उहाँ (यादव) आफ्नो हिसाबले राजनीति गर्नुहुन्छ, हामी आफ्नो हिसाबले गर्छौं। उहाँहरूसँग हाम्रो कुनै सरोकार छैन,’ यादवले भने।

उनका अनुसार अब मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्ने विषयमा एमाले र माओवादी केन्द्रले सहमति जनाएका छन्। ‘हाम्रो बटम लाइन मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गर्नुपर्छ भन्ने हो। त्यसमा एमाले र माओवादी केन्द्रले सहमति जनाइसकेकाले केन्द्रमा हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौं,’ उनले भने।

यादवका अनुसार अब जनमत पार्टी केन्द्र सरकारमा जान तयार छ। तर केन्द्र सरकारमा जनमत पार्टीलाई लैजान सरकारमा बसेका कुनै मन्त्रीलाई राजीनामा गराउनुपर्ने हुन्छ। किनभने अहिले सरकारमा मन्त्रीको कोटा भरिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि सोमबार बिहान प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष राउतबीच कुराकानी भएको थियो।

यसैगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि राउतले कुराकानी गरेका थिए। जसपा नेपालको विभाजनपछि संसद्मा उक्त दलभन्दा जनमत पार्टी ठुलो भएको छ। संसद्मा जसपा नेपालमा पाँच र जनमतका ६ सांसद छन्।

प्रकाशित: १० जेष्ठ २०८१ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App