२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को सम्पत्ति विवरण : ‘धनी’ रघुवीर र ‘गरिब’ नारायणकाजी

अन्ततः सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार सबैभन्दा धनीमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र गरिब मन्त्री उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ देखिएका छन्।

रघुवीरपछि क्रमशः शिक्षामन्त्री सुमना श्रेष्ठ, वनमन्त्री नवलकिशोर साह, सहरी विकासमन्त्री धनबहादुर बुढा, श्रममन्त्री डोलप्रसाद अर्याललगायत मन्त्रीहरू धनी देखिएका छन्। उनीहरूसँग काठमाडौंलगायत विभिन्न ठाउँमा प्रशस्त जग्गा, तीन÷चार ठाउँमा घर, झन्डै सय तोला सुन र करोडभन्दा माथि बैंक ब्यालेन्स रहेको विवरणमा उल्लेख छ।

वनमन्त्री साहले त आफूसँग १२ बोरको एक थान बन्दुक (राइफल) समेत रहेको जनाएका छन्। उनले विभिन्न ठाउँमा नौवटा घर, १५ ठाउँमा जग्गा रहेको जनाएका छन्। उनले आफूसँग १ करोड ३५ लाख रूपैयाँ बराबरको सेयर, करिब १८० तोला सुन, करिब १ हजार ५०० तोला चाँदी रहेको विवरणमा उल्लेख गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग एक सेट हीराको हार, ११ तोला सुन र १० तोला चाँदी रहेको मात्र जनाएकी छैनन्, विदेशी बैंकमा समेत करोडभन्दा बढी रकम रहेको जनाएकी छन्।

सम्पत्ति विवरणमा उनले एक विदेशी नागरिकका नाममा १ करोड ५० लाख रूपैयाँ बराबरको युएस डलर तथा २ करोड ३४ लाख रूपैयाँ बराबर युरो डलर आफूसँग रहेको जनाएकी छन्। पावल स्वविन्सकी नाम गरेका ती विदेशी नागरिकसँग उनको नाता के पर्छ, त्यसबारे उनले सम्पत्ति विवरण फाराममा खुलाएकी छैनन्।

सम्पत्ति विवरणमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति भने अरू मन्त्रीहरूको तुलनमा कम देखिएको छ। उनले आफूसँग गोरखाको सिरान चोकमा ३८ रोपनी जग्गा तथा बैंकमा १ लाख २२ हजार रूपैयाँ ब्यालेन्स रहेको जनाएका छन्।

प्रधानमन्त्रीसँग २५ लाख बैंक मौज्दात

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँग चितवनमा १५ कट्ठाको घरघडेरी, २५ लाख रुपैयाँ बैंक मौज्दात रहेको जनाएका छन्। उनले भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा तथा भरतपुर महानगरपालिका १२ मा एक कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको विवरणमा खुलाइएको छ।

पत्नी सीता दाहालको नाममा रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको विवरणमा उल्लेख छ। दाहालले आफूसँग पाँच तोला सुन तथा एभरेस्ट बैंक लिमिटेड सिंहदरबारको खातामा २५ लाख नगद मौज्दात रहेको जनाएका छन्।

दोस्रोपटक प्रधानमन्त्री भएका बेला २०७३ सालमा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा दाहालले आफूसँग एक कट्ठा जग्गा तथा तीन तोला सुन मात्र रहेको विवरण पेस गरेका थिए। तेस्रो पटक प्रधानमन्त्री भएको बेला सार्वजनिक गरिएको विवरणमा केही सम्पत्ति बढेको पाइएको छ।

रघुवीरको सम्पत्ति कति ?

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ आफूसँग नगद मात्रै २ करोड २५ लाख तथा ३ करोड ५५ लाख रुपैयाँबराबरको सेयर रहेको देखाएका छन्। ललितपुरमा २ रोपनी १३ आना क्षेत्रफलमा तथा जनकपुरमा ४ हजार २ सय वर्ग मिटर क्षेत्रफल जग्गामा उनका घर छन् । सिन्धुली, धनुषा र ललितपुरमा उनको प्रशस्त जग्गा छ।

धनुषामा मात्र उनीसँग सात बिघा तीन कट्ठा जग्गा छ। यसैगरी उनले ४३ तोला सुन र यसबाहेक विभिन्न गहना तथा १५० तोला चाँदी रहेको जनाएका छन्।

यसैगरी सहरी विकासमन्त्री धनबहादुर बुढाले आफूसँग सातवटा घर भएको जनाएका छन। उनले चारवटा घर डोल्पा र तीनवटा घर काठमाडौंमा रहेको विवरणमा उल्लेख गरेका छन्। यसैगरी उनीसँग १५० तोला सुन, ३०० तोला चाँदी, ६० लाख रूपैयाँ बैंक ब्यालेन्स रहेको जनाइएको छ। काठमाडौमा मात्र उनीसँग ४४ आना जग्गा रहेको बताइएको छ।

रविको जग्गा कति छ ?  

गृहमन्त्री लामिछानेले आफूसँग बुढानीकलकण्ठ नगरपालिका– ८ मा पाँच आना, भक्तपुरमा एक रोपनी एक आना तथा पत्नी निकिता पौडेलका नाममा काठमाडौंमा १० रोपनी जग्गा रहेको जनाएका छन्। यसैगरी उनले ८० तोला सुन भएको विवरणमा उल्लेख गरेका छन्।  

अर्थमन्त्रीसँग ३३ लाख रूपैयाँ  

अर्थमन्त्री वर्षमान पुनले आफूसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रूपैयाँ जम्मा रहेको जनाएका छन्। उनले रोल्पा माडीचौरमा ८२० वर्गमिटर बराबरको जग्गा पैतृक सम्पत्तिका रूपमा रहेको विवरणमा उल्लेख गरेका छन्।

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले आफूसँग १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हीरा रहेको जनाएका छन्। विभिन्न १२ ठाउँमा जग्गा रहेको उनले जनाएका छन्। उनले आफू र आफ्नो पत्नीको अम्बिका केसीका नाममा २ करोड बढी नगद बैंक तथा सहकारीमा रकम रहेको विवरण उल्लेख गरेका छन्।

यस्तै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग सेयर मार्केटमा झन्डै १० करोड रूपैयाँ बराबरको लगानी रहेको विवरणमा उल्लेख छ। उनले आफूसँग १५ हजार ९०६ कित्ता सेयर रहेको जनाएका छन्।

मंगलबार प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित २१ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानको भने सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन। यादव र खान मन्त्री भएको ६० दिन पुगेको छैन।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा प्रधानमन्त्री र मन्त्रीले पद बहाल भएको ६० दिनभित्र र त्यसपछि आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ।

पछिल्लोपटक २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो। तर ओली प्रधानमन्त्री भएकै बेला थपिएका केही मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन्। त्यसपछि बनेका सरकारहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिएनन्।

प्रकाशित: ९ जेष्ठ २०८१ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App