२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पहिचान पक्षधरका गतिविधिले उपनिर्वाचनमा ‘थ्रेट’

इलाम जिल्ला प्रशासन कार्यालय

इलाम क्षेत्र २ मा आउँदो १५ गते हुने उपनिर्वाचनमा पहिचान पक्षधरबाट हुनसक्ने सम्भावित गतिविधिलाई सुरक्षा निकायले मुख्य सुरक्षा चुनौती (थ्रेट)का रूपमा लिएको छ। जिल्ला सुरक्षा समितिले पहिचान पक्षधरबाट निर्वाचनलाई आफ्नो पक्षमा पार्न कुनैपनि गतिविधि हुनसक्ने आकलनसहित ‘विशेष निगरानी’समेत गरिरहेको छ।

उपनिर्वाचन हुन लागेका ७९ मतदानस्थल सबैलाई सुरक्षा समितिले ‘अति संवेदनशील’ भनेको छ। तर, विशेषगरी माङ्सेबुङ र चुलाचुलीमा पहिचान पक्षधरबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राख्दै प्रशासनले निगरानी बलियो बनाएको स्रोतले जनाएको छ।  

‘इलाममा धार्मिक कारणले चाहिँ निर्वाचनलाई चुनौती छैन,’ सिडिओ यादवले भने, ‘पहिचानवादीका पनि केही समूहबाट मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास हुनसक्ने, उनीहरूबाट निर्णय आफ्नो पक्षमा नआउने सम्भावना रहेमा डर, धाक–धम्कीको सम्भावना चाहिँ सम्भावित चुनौती बनेको छ।’ तर, माङ्सेबुङ र चुलाचुलीमा बेग्लै, विशेष सुरक्षा व्यवस्था भने नगरेको उनले जनाए। ‘चुनौती भएपछि बढी वाच गरिरहेका छौँ। तर, विशेष योजना नै छैन अहिलेसम्म,’ उनले भने, ‘निर्वाचन त शान्तिपूर्ण हुन्छ।’

 उनले अब उपनिर्वाचन हुने सबै मतदानस्थल अति संवेदनशील भएपनि अघिल्लो निर्वाचनअनुसार नै वर्गीकरण भने गरिएको जनाए। ‘अघिल्लो निर्वाचनमा अति संवेदनशील १९, संवेदनशील २१ र सामान्य ३९ मतदानस्थल थिए,’ उनले भने, ‘यो पटक पनि त्यही हो तर प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेको देशकै एकमात्र क्षेत्र भएकाले बाहिरबाट आउने व्यक्तिको अवस्था आकलन गरी सबै मतदानस्थललाई अति संवेदनशील नै भनेका छौँ।’ उनले भारतको लोकसेवा निर्वाचन पनि यतिबेलै भएको र इलाम सीमाक्षेत्रमै पर्ने भएकाले पनि चुनौती थपिएको बताए।  

उनका अनुसार सुरक्षाकर्मीको परिचालन पनि अति संवेदनशीलताकै आधारमा गरिएको छ। सुरक्षा समितिले यो निर्वाचनमा तीन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ। समितिका अनुसार एक हजार पाँच सय २३ जना नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी, सात सय नेपाली सेना र अनुसन्धानका १५ जना परिचालन हुनेछन्। जसमा, नेपाली सेना र सशस्त्र प्रहरी भने ‘फिल्ड’मै रहेको समितिले जनाएको छ।  

तर, पहिचान पक्षधर नेता भक्तिराज लिम्बूले आफूहरूबाट उपनिर्वाचनमा कुनैपनि चुनौती नरहेको बताए । ‘हामी सडकका मुख्य आन्दोलनकारी नै प्रतिस्पर्धाका लागि निर्वाचनमा आएका छौं,’ उनले बिहीबार इलाममा आयोजित सर्वपक्षीय बैठकमा भने, ‘हामी निर्वाचन शान्तिपूर्ण होस् भन्ने चाहन्छौं, हामी नै चुनावमा आएपछि हामीबाट कुनै चुनौती छैन, निर्वाचन भयरहित हुन्छ ।’

यो क्षेत्रका ७९ मतदानस्थलमा एक सय ४९ मतदान केन्द्र छन्। यो क्षेत्रमा इलाम नगरपालिका, माई नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र चुलाचुली गाउँपालिका गरी छ स्थानीय तहका ४२ वटा वडा छन्। यो क्षेत्रमा ५६ हजार आठ सय ६९ महिला, ५९ हजार १८ पुरुष र अन्य दुई गरी एक लाख १५ हजार आठ सय ८९ मतदाता छन्।  

गत भदौ २६ मा यो क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि १२ दल र सात उम्मेदवार चुनावी मैदानमा छन्।

प्रकाशित: १३ वैशाख २०८१ १७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App