२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचारको अन्तिम दिन: ‘फिनिसिङ टच’ मा दल र उम्मेदवार

आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि दल र उम्मेदवार मतदातालाई आफ्नो पक्षमा ल्याउन फिनिसिङ टच (अन्तिम धक्का) दिँदै छन्।

चुनावी प्रचारप्रसार गर्न पाउने आज (बुधबार) अन्तिम दिन भएकाले दलहरू तीव्रताकासाथ चुनावी सभा र घरदैलोमा व्यस्त बनेका हुन्।

नेकपा (एमाले) ले चुलाचुली गाउँपालिकाको बाह गोठेमा चुनावी सभा आयोजना गरेको छ। सभामा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्। एमाले जिल्ला सचिव उमेश गुरुङले मतदातालाई एमालेका सकारात्मक काम र अबका योजनाबारे जानकारी गराउन अन्तिम चुनावी सभा आयोजना गरिएको जानकारी दिए।

‘अन्तिम समयतिर मतदातासँग मतका लागि अनुरोध गर्दैछौं,’ उनले भने, ‘यो बेलाको अनुरोध निकै प्रभावकारी बन्नसक्छ।’ मंसिर ५ मा देउमाई नगरमा एमालेले आज अन्तिम दिन मतदातासँग उपनिर्वाचनका लागि अन्तिम पटक भोट माग्न यहाँ चुनावी सभा आयोजना गरेको हो। एमालेले भने इलाम बजारमा चाहिँ यो पटक चुनावी सभा आयोजना गरेको छैन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज एकै दिन दुई स्थानमा चुनावी सभा आयोजना गरेको छ। अहिले देउमाई नगरमा चुनावी सभा गरिरहेको रास्वपाले अपराह्न इलाम बजारमा पनि सभा आयोजना गर्दैछ। सभालाई पार्टी सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, डा. तोसिमा कार्कीलगायतले सम्बोधन गर्दै छन्।

नेपाली कांग्रेसले चुनावी प्रचारको अन्तिम दिन आज पनि घरदैलो अभियानलाई नै तीव्र बनाएको छ। आज साँझ इलाम बजारमा घरदैलो कार्यक्रम गरिने कांग्रेस जिल्ला सचिव निरोज खड्गीले जानकारी दिए।

इलाम नगरपालिका सबैभन्दा बढी मतदाता भएको पालिका हो। ‘आज दिउँसोका लागि चुनावी सभा चाहिँ छैन,’ उनले भने, ‘साँझ इलाम बजारमा घरदैलो गरिने छ।’ कांग्रेसले हिजो चुलाचुलीमा चुनावी सभा सम्पन्न गरेको थियो।

पहिचान पक्षधरको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवार डकेन्द्रसिंह थेगिमले अहिले चुलाचुलीको आइतबारेमा चुनावी सभा आयोजना गरेका छन्। उनको सभालाई सम्बोधन गर्न धरान उपमहानगरका मेयर हर्क साम्पाङसमेत आएका छन्। नेकपा (एकीकृत समाजवादी) ले पनि आजै चुलाचुलीमा चुनावी सभा आयोजना गरेको छ। सभालाई सम्बोधन गर्न राजेन्द्र राईलगायत नेता आएका छन्।

निर्वाचनका लागि १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवार छन्।

०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याए।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाको एक हजार तीन सय ८० मत आएको थियो। समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ र नेकपा (एस) ले पाँच सय ८६ मत पाएका थिए।

निर्वाचन आयोगले चैत २८ देखि आजसम्मलाई मात्रै चुनावी प्रचारको समय तोकेको छ। भरे राति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मौन अवधि तोकिएको छ।

प्रकाशित: १२ वैशाख २०८१ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App