नेपाल–अंग्रेज युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजयोत्सव मनाइएको छ। १८७१/७२ सालमा विश्व विजयको अभियान लिएर हिँडेको अंग्रेज फौजलाई नेपाली फौजले १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लाबाट पराजित गरेर धपाउन सफल भएको थियो।
आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई परम्परागत हतियार बोकेको नेपाली फौजले युद्धकला र कौशलका साथ पराजित गरेको खुसियालीमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयोत्सव मनाउँदै आएको छ।
विजयोत्सव कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तराष्ट्रिय स्तरमा पुग्ने गरी प्रचारप्रसार गर्नु पर्ने बताए। जितगढी किल्ला देशकै अमूल्य सम्पदा र नेपाली वीरताको इतिहास भएकाले यसको संरक्षण संवर्धन गर्दै पर्यटक प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्त्वपूर्ण सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गरिरहेको बताए। उनले नेपाल–अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न संघ सरकारसँग माग पनि गरे।
किल्लाको संरक्षण गर्दै पर्यटकीय स्थलको स्थापित गर्न नगरले भरपुर प्रयास गरिरहेको उनले जानकारी दिए। उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको सम्पत्तिको रूपमा रहेको जितगढीको संरक्षण र प्रवर्धनमा सबैको साथ सहयोग आवश्यक रहेको बताइन्।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले बोल्दै पछिल्लो समय उपमहानगरपालिकाले गढीको संरक्षण र प्रवद्र्धनमा ध्यान दिएको भन्दै सबैको सहकार्य आवश्यक भएको बताए।
सो अवसरमा जितगढीको प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै अध्येताहरू निर्मलप्रसाद श्रेष्ठ, विमलबहादुर शाक्य, गोपालप्रसाद लाकौल, पत्रकार महेन्द्र थापा, शरण कर्माचार्य, दिनेश श्रेष्ठ, डा. विनोद पराजुलीलगायतलाई सम्मान गरिएको थियो।
उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकीसहितको र्यालीले पुल्चोक गणेश मन्दिर हुँदै जितगढी किल्लामा पुगी उत्सव मनायो। विजयोत्सवकै अवसरमा गोरखाबाट पैदलयात्रा गरी जितगढी आएको नेपाली सेनालाई पनि गढीमा भव्य स्वागत गरिएको थियो।
नेपाल–अंग्रेज युद्ध र जितगढी किल्ला
बुटवल उपमहानगरपालिका–१ मा तिनाउ नदीको किनारमा जितगढी किल्ला रहेको छ। १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लाबाट कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाई घुँडा टेकाएको थियो। इतिहासकारहरूका अनुसार १८७१ पुस २१ देखि १८७२ सम्म नेपाल–अंग्रेज युद्ध भए।
कुमाउ–गढवाल, मकवानपुरगढी, कोसी–टिस्टा, बुटवल–जितगढीमा अंग्रेज फौजसँग नेपाली फौजले युद्ध लडेका थिए। इतिहासमा उल्लेख भएअनुसार त्यतिबेला अमरसिंह थापा, बलभद्र कुँवर र भक्ति थापा नेतृत्वको नेपाली फौजले कुमाउ–गढवाल, मकवानपुरगढी र कोसी–टिस्टामा अंग्रेज फौजसँग लडाइँ हारेका थिए। तर पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ वैशाख ७ गते बुटवलको जितगढीबाट अंग्रेज फौजलाई परास्त गरी धपाएका थिए। जितगढी किल्ला बुटवल उपमहानगरपालिका–१ पुरानो बटौलीमा अवस्थित छ।
अंग्रेजले तत्कालीन बटौली र स्युराज किल्ला कब्जा गरी व्यापारिक नाका कब्जा गर्ने योजनाअनुरूप मेजर जनरल जोन सुलिमान उड १८७१ मै एक हजार अंग्रेज सेना र तीन हजार हिन्दुस्तानी फौजसहित बनारस, गोरखपुर हुँदै बुटवल आएका थिए।
बुटवल हुँदै पाल्पा हान्ने कम्पनी सरकारको मुख्य योजना थियो। अंग्रेज फौज बुटवल आइपुग्दा नेपाली सेना संघ घमासान युद्ध भयो। हातहतियारले सजिएको अंग्रेज फौजसँग नेपाली फौजले देखाएको रणकौशल र आक्रमण शैलीले अंग्रेज फौजतर्फ ठुलो क्षति भएपछि तयारी नपुगेको भन्दै उड फर्किएका थिए। केही महिनापछि जनरल उडकै नेतृत्वमा फेरि बुटवलमा आक्रमण भयो।
अंग्रेज सेनाले बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त बनायो। त्यसपछि हौसिएको अंग्रेज फौज तिनाउ तरेर किल्लातिर अगाडि बढ्दै गर्दा रणकौशलतापूर्वक किल्लामा लुकेर बसेका नेपाली फौजले आक्रमण गरी परास्त गर्न सफल भए। इतिहासकारहरूका अनुसार १८७२ वैशाख ७ मा कर्णेल उजिरसिंह थापाले अंग्रेज सेनालाई परास्त गर्दै विजयको पताका फहराएका थिए।
तिनाउ नदीको किनारमा अवस्थित गढीबाट नेपाली फौजले पराक्रम र चलाखी देखाई कम्पनी (अंग्रेज) सरकारको फौजलाई हराएकाले यो गढीको नाम जितगढी भन्न थालिएको जनश्रुति छ।
अन्य प्राचिन गढीहरूकै शैलीमा रहेको जितगढी किल्ला पाँच सय वर्गफिट क्षेत्रफलमा फैलिएको छ। पूर्व–पश्चिम २०५ फिट लम्बाइ र ५५ फिट चौडाइ छ। यो गढी इटा र सुर्खीको प्रयोग गरी बनाइएको छ। जग फराकिलो छ। गारो माथितिर साँगुरो हुँदै गएको छ। गढीको भित्री भाग खुला छ।
भित्रबाट पर्खालको उचाइ ४.३ फुट र चौडाइ १० इन्च र भित्ताको मोटाइ ८.४ फुट छ। करिब १२ लाख देखि १५ लाख इँटाको प्रयोग भएको बताइन्छ। गढीमा प्रत्याक्रमणका लागि अर्धगोलाकार बुर्जा बनाइएको छ। युद्धका लागि तिनमा चरहरू राखिएका छन्। गढीमा १२ लाख देखि १५ लाख इँटका प्रयोग भएको अनुमान छ।
२०५२ सालमा पुरातत्त्व विभागले देशभरका गढीहरू संरक्षण गर्ने क्रममा जित गढीको पर्खालका बीच भागको उत्तरतर्फ ट्रायल ट्रिच लिँदा पुरिएको पर्खालको पेटी भेटिएको थियो। २०६९/७० र २०७०/७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो। उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिए पनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएनन् ।
प्रकाशित: ९ वैशाख २०८१ ०८:०९ आइतबार