४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद अधिकारीको प्रश्न: सय किलोमिटर बाटो ३० वर्षमा पनि किन बन्दैन ?

प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारीले धादिङ सदरमुकाम धादिङबेसी–तिप्लिङ सडक (दामन पाख्रिन राजमार्ग) एक सय किलोमिटर बाटो ३० वर्षमा पनि निर्माण हुन नसकेको गुनासो गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले केन्द्रीय राजधानी काठमाडौंसंग जोडिएको जिल्ला भएपनि सदरमुकाम धादिङवेसी देखी उत्तर तर्फको साबिकको १२ वटा गाविसलाई जोड्ने उक्त सडक ३० वर्ष हुँदा पनि निर्माण सम्पन्न हुन नसकेको बताएका हुन्।

गणेश हिमालको काखमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्वतीय तथा सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको रूविभ्यली गाउँपालिकालाई जोड्ने एक मात्र सडकको काम अहिलेसम्म पुरा नहुँदा विकाससहित अन्य सम्भावनाहरू पनि रोकिएको उनको भनाइ थियो।

दामन पाख्रिनको नामबाट नामकरण गरिएको राजमार्ग निर्माण सुरु भएको ३० वर्ष पुरा भएको भन्दै उनले भने, ‘३० वर्ष पुरा भयो, अब कति वर्ष कुर्नु पर्ने हो निमुखा नागरिकले ? अझै कति दुःख पाउनुपर्ने हो त्यहाँको नागरिकले ? उक्त सडकको निर्माण कार्य कति वर्षमा पूर्ण हुन्छ ?’

तत्कालीन जिल्ला विकास समितिको आयोजनामा ‘कामको लागि खाद्यान्न कार्यक्रम’ अन्तर्गत विक्रम सम्बत २०५० सालमा निर्माण कार्य सुरु गरिएको जनाउँदै अधिकारीले करिब १०० किलोमिटर लम्बाई रहेको उक्त सडक खण्डको निर्माण भइसक्दा लाभान्वित हुने नागरिकहरू वर्षायाममा अहिले पनि सदरमुकाम आइपुग्नलाई ३ देखी ४ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए।

सय किलोमिटर सडकको निर्माण कार्य सुरु भएको तिन दशक पुरा भइसक्दा पनि सडकको अन्तिम गन्तव्यसम्म सडकको ट्र्याक पनि नखोलिएको र ट्र्याक खोलिएको सडकको हालको अवस्था पनि भयावह रहेको उनले सुनाए।

यस्तो लाजमर्दो किसिमको विकासको नमुना हामीले कहिलेसम्म गरिरहने हो भन्ने प्रश्न गर्दै उनले जनताले अहिलेको सूचना प्रविधिलाई प्रयोग गरेर विश्वमा भएका भौतिक विकासका नमुनाहरू हेरिरहेका बताए।

कसका कारणले ढिलासुस्ती भइरहेको छ भन्ने प्रश्न गर्दै उनले भने,‘समस्या कहाँ छ ? सोचमा छ कि स्रोतमा छ ? कागजमा छ कि कर्मचारीमा छ ? नियममा छ कि नियतमा छ ?’

प्रकाशित: २० चैत्र २०८० २०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App