२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नागरिक उन्मुक्तिको बैठक: संघ र प्रदेशमा एउटै गठबन्धनलाई समर्थन

नेकपा माओवादी नेतृत्वको संघीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।

बैठकले सुदूरपश्चिम प्रदेशका हकमा भने कुनै ठोस निर्णय गर्न सकेन। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार पार्टी नेतृत्वले सुदूरपश्चिम प्रदेशमा सहभागी सांसदहरूसँगको छलफलपछि निर्णय गर्ने सहमति भएको छ।

उनले सांसदहरूसँग छलफल सुरु गर्ने र उपयुक्त समयमा फिर्ता बोलाइने जानकारी दिए। उनले आफ्नो पार्टीले दोहोरो भूमिका नखेल्ने बताए।

उनले सुदूरपश्चिम प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने बताए। यस बारेमा संघीय गठबन्धन दलका नेतृत्व सँग छलफल भइसकेको उनले‍ जानकारी दिए। ‘सुदूरपश्चिममा हामी आफै सरकारको नेतृत्व गर्छौ’ उनले भने –‘यस बारेमा लगभग सहमति भइसकेको छ।’

बैठकमा सहभागी पार्टीको संगठन विभाग प्रमुख समेत रहेका सुदूरपश्चिम प्रदेशका बिना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीले पार्टीको निर्णय अनुसार नै आफूहरू अघि बढ्न तयार रहेको बताए। उनले पार्टीको निर्णय नै आफ्ना लागि सर्वोपरि भएको बताए। ‘पार्टीको निर्णय नै सर्वोपरि हो। त्यो सबैका हकमा मान्य हुनुपर्छ’ उनले भने –‘तर कतिपय कुरा सच्याउनु पर्छ।’

उनले सुदूरपश्चिम प्रदेश सरकारका हकमा तत्काल निर्णय गर्न नहुने र अन्तिम समयसम्म कुर्नुपर्ने आफ्नो धारणा बैठकमा राखेको जानकारी दिए। उनले पार्टीले आफ्नो धारणाको सम्मान गर्नेमा विश्वस्त रहेको बताए। ‘अहिले नै सरकारबाट बाहिरिनु हुन्न अन्तिम समयसम्म कुर्नुपर्छ भन्ने मेरो धारणा हो’ उनले भने–‘पार्टीले के गर्छ त्यसको पर्खाइमा छु।’

यस बारेमा बुझ्न खोज्दा सुदूरपश्चिम प्रदेशमा पार्टीको संसदीय दलको नेता समेत रहेका प्रदेश सरकारका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी सम्पर्क आउन चाहेनन्।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको थियो। पार्टीका २ जना केन्द्रीय सदस्य हाल पार्टीको सक्रिय भूमिकामा छैनन्।

बैठकमा पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षको भने खासै उपस्थिति रहेन। सरकारमा सहभागिताका सवालमा पार्टी भित्र दुई गुट देखिएका छन्।

अध्यक्ष श्रेष्ठ चौधरी संघीय सरकारको गठबन्धनका पक्षमा छन् भने संरक्षक चौधरी विपक्षमा छन्। संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेका छन्। उनकै सल्लाहमा पार्टीका तर्फबाट पाँच जना मन्त्री समेत भएका छन्।

संघ र सुदूरपश्चिम प्रदेशमा फरक फरक गठबन्धन भएपछि पार्टी अध्यक्ष श्रेष्ठ चौधरी समस्यामा छन्। उनलाई कुनै एक गठबन्धन छोड्नुपर्ने बाध्यता छ।

संघीय सरकारसँगको गठबन्धन तोड्दा सुदूरपश्चिम प्रदेश बाहेकका सबै ठाउँमा प्रतिपक्षमा बस्नुपर्नेछ भने सुदूरपश्चिम प्रदेशमा सत्ताबाट बाहिरिनु पर्नेछ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ। उसका ७ सहित प्रदेशमा काँग्रेसका १८, एमालेका १०, माओवादीका सभामुख सहित ११, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन्।

प्रकाशित: १४ चैत्र २०८० १९:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App