२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपसभामुखलाई जिम्मा नदिई किन विदेश हिँडे सभामुख?

संसद् अधिवेशन चलिरहेका बेला उपसभामुखलाई जिम्मा नदिई १० दिनसम्म बैठक स्थगित गरेर सभामुख देवराज घिमिरे स्विजरल्यान्डको जेनेभातर्फ प्रस्थान गरेपछि संसद् सुनसान छ। अधिवेशनबीचमा सांसदहरू गृह जिल्लातर्फ लाग्न बाध्य भएका छन्। संसद् बैठक चैत ८ देखि १८ गतेसम्म स्थगित छ। संसद् बैठकको प्रभावकारिताले संसद्को कामलाई अगाडि बढाउन मद्दत गर्छ।

प्रतिनिधिसभा नियमावलीमा सभामुखले लिखित अनुमति दिएमा उपसभामुखले संसद् बैठक चलाउन सक्ने व्यवस्था राखिएको छ। प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ४ मा भनिएको छ, ‘सभामुखले उपसभामुखलाई लिखित निर्देशन दिएमा वा सभामुख काबुुबाहिरको परिस्थिति परी बैठककमा उपस्थित हुन नसकेमा उपसभामुखले बैठकको प्रारम्भ तथा स्थगन वा सभामुखले प्रारम्भ गरेको बैठकको स्थगनको घोषणा गर्नेछ।’

सभामुखले उपसभामुखलाई कुनै लिखित अनुमति नदिई उल्टै प्रमुख दलका प्रमुख सचेतकहरूलाई नै लगेको स्रोतले बतायो। अन्तर व्यवस्थापिका संघ (आइपियु) को १४८औं महासभामा सहभागी हुन १० सदस्यीय प्रतिनिधिमा सभामुख देवराज घिमिरे, सत्तापक्षका प्रमुख सचेतक माओवादी केन्द्रका हितराज पाण्डे, एमालेका महेशकुमार बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रियसभाका सांसद गंगाकुमारी बेलबासे चैत ८ गते त्यता लागेका छन्।

बर्षको एकपटक विदेश जान पाउने भएकाले प्रमुख सचेतकलाई नै बोकेर उनी विदेश लागेको स्रोतले बतायो। ‘सर्वप्रथम बर्सेनि हुने आइपियुको महासभामा सभामुख प्रत्येक वर्ष जानै पर्ने अवस्था हुँदैन, सभामुखको कार्यकाल पाँच वर्षको भएकाले हरेक वर्ष जानुभन्दा पनि एक दुईवटा महासभामा जान सकिन्छ। कार्यकालभरि नै जानै पर्ने भए अधिवेशन चलिरहेका बेला उपसभामुखलाई जिम्मेवारी दिनुपर्छ,’ स्रोतले बतायो।

संसद् बैठकको काम ठप्प नहोस् भनेर नै यसपटक नियमावलीमा उपसभामुखले बैठक सञ्चालन गर्नसक्ने र अन्त्य गर्नसक्ने व्यवस्था गरिएको संसद् सचिवालय स्रोतले बतायो। उपसभामुख इन्दिरा राना यतिबेला समय कटाउँदै बस्नुपरेको अवस्था छ।

सांसदले संसद् बैठकमा आकस्मिक समय, शून्य समय र विषेश समयमा विभिन्न समसामयिक विषयमा भनाइ राख्ने, विधेयक टेबुल गर्ने, विधेयक पारित गर्ने, ध्यानाकर्षण प्रस्तावहरूमा छलफल गर्नेलगायका काम हुने गर्छ। वर्षमा दुईवटा अधिवेशन बोलाइएको हुन्छ।

संसदीय परम्परा अनुसार बर्खे अधिवेशनमा बजेटको काममा बढी केन्द्रित हुनुपर्छ भने हिउँदे अधिवेशनमा विधेयक पारित गर्नेमा केन्द्रित हुनुपर्छ। तर, गत माघ २२ गते बोलाइएको संसद् अधिवेशनमा जम्मा  १५ वटा बैठक बसेका छन्। ती बैठकमा दुईवटा मात्र विधेयक पारित भएका छन्।

संसद् सचिवालयका अनुसार अब तीन साता भन्दाबढी अधिवेशन रहने अवस्था देखिँदैन। ‘चालु अधिवेशनलाई विधेयक पारित गर्ने अधिवेशन बनाउने भन्ने सभामुख आफैं बैठक स्थगित गरेर विदेश गएपछि अब कसरी संसद् प्रभावकारी हुने हो भन्ने प्रश्न उब्जिएको छ।

सरकारलाई भने संसदमा आफ्नो कामप्रति प्रतिपक्षले नकारात्मक कुरा मात्र उठाउने डर भइरहने हुँदा संसद् स्थगित भएकोमा कुनै गुन्जायस देखिँदैन,’ संसद् सचिवालयका अधिकारीको टिप्पणी छ।

प्रकाशित: १२ चैत्र २०८० ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App