१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकीका नयाँ मुख्यमन्त्रीः अधिकारी कि चुमान ?

केन्द्रमा गठबन्धन फेरिएसँगै गण्डकीमा मुख्यमन्त्री को बन्ने भन्ने बहस सुरु भएको छ।

केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत पाए पनि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्योल छ। गण्डकीमा नयाँ गठबन्धनलाई बहुमत पुर्‍याउन सकस देखिन्छ।

६० सदस्य रहेको गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीको सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादीका १ जना छन्। नयाँ सरकार गठनका लागि ३१ मत चाहिन्छ।

नयाँ गठबन्धनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ३१ मत पुग्छ। तर माओवादीबाट सभामुख भएका कृष्णचन्द्र धिताल सरकार बनाउने प्रक्रियामा सहभागी हुन नपाउने तथा माओवादीमा गणना भएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का फडिन्द्र देवकोटाले माओवादीबाट छुट्टिन माग गरिरहेकाले बहुमत जुटाउन फलामको चिउरा चपाउनु सरह भएको छ।

उसो त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )लाई पनि नयाँ गठबन्धनले सरकार बनाउनका लागि सहयोग मागिरहेको छ। तर राप्रपाले वचन दिइसकेको छैन। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली नयाँ सरकार गठनका लागि राप्रपासँग कुरा भइरहेको बताउँछन्। ‘राप्रपासँगको छलफल सकारात्मक छ, तर निर्णय दिइसकेको छैन,’ उनले भने।

नयाँ गठबन्धनले सरकार निर्माणको कसरत गरिरहेका बेला वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने आफै बहुमत पुर्‍याएर विश्वासको मत लिने प्रयासमा छन्। उनी राप्रपाका २, माओवादी चुनाव चिह्नबाट जितेपनि नेसपाका फडिन्द्र देवकोटा र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई फकाएर बहुमत पुर्‍याउन सकिनेमा मुख्यमन्त्री पाण्डे विश्वस्त छन्।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई गण्डकीमा विश्वासको मत लिन सकिने ब्रिफिङ गरेका छन्। ब्रिफिङमा उनले भनेका कुरा उद्धृत गर्दै श्रोतले भन्यो, ‘गण्डकीमा विश्वासको मत पाउन सकिन्छ। तर राप्रपा लगायतको विश्वास जित्नुपर्छ।’

अंक गणितलाई हेर्दा नयाँ गठबन्धनले तत्काल बहुमत पुर्‍याइहाल्ने देखिँदैन। तर मुख्यमन्त्रीको लागि भने नयाँ गठबन्धनका दलहरुबीच हानथाप सुरु भएको छ। गण्डकीको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेबाट खगराज अधिकारी र माओवादी केन्द्रका हरिबहादुर चुमान दुवैले दाबेदारी प्रस्तुत गरेका छन्।

गण्डकीमा पाँच पटक अरुलाई मुख्यमन्त्री बनाइसकेको माओवादी यसपटक जसरी पनि मुख्यमन्त्री लिने तयारीमा छ। यसअघि माओवादीको सहयोगमा एमालेका पृथ्वीसुब्बा गुरुङलाई दुई पटक, एमालेकै खगराज अधिकारी एक पटक, कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल र वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनिसकेका छन्। त्यसैले माओवादी यसपटक मुख्यमन्त्री छाड्ने मुडमा नरहेको दलका नेताको भनाई छ।

माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान भन्छन्,‘हामीले अरुलाई पाँच पटक मुख्यमन्त्री बनाइसकेका छौं। यसअघि मुख्यमन्त्री बनाउँदा आलोपालो भनेर सहमति भएकाले यस पटक हामीले पाउनु न्यायसंगत हुन्छ।’

तर केन्द्रमा गण्डकीको मुख्यमन्त्री आगामी ४ वर्षकै लागि एमालेलाई दिने सहमति भइसकेको हल्ला फैलाएको छ। एमालेले सात प्रदेश मध्ये एउटा मात्रै पायो भने पनि गण्डकी लिन्छ, एमाले गण्डकीका नेताहरू भन्छन्,‘त्यसैले गण्डकीमा माओवादीले मुख्यमन्त्री पाउने सम्भावना छैन।’

प्रकाशित: १ चैत्र २०८० १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App