५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले बागमतीमा सरकार बनाउन पहल नगर्ने

संसदीय दलको बैठक पश्चात कांग्रेसका सांसद्हरु।

केन्द्रमा भएको नयाँ सत्ता समीकरणसँगै प्रदेश सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले तत्काल आफ्नो नेतृत्वमा सरकार बनाउन पहल नगर्ने जनाएको छ।

मंगलबार हेटौंडामा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार गठनको विषयमा अहिल्यै अघि नबढ्ने निर्णय गरेको हो।

तत्काल सरकार गठनको लागि पहल नगर्ने बताउँदै कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले केही समय प्रतिक्षा गर्ने जानकारी दिए। ‘अहिले हामी ‘पर्ख र हेर’को अवस्थामा छौं’, प्रदेशको ठूलो दलको रुपमा रहेको कांग्रेसका उपनेता चित्रकारले भने, ‘अहिले बल सरकारको कोर्टमा छ। सरकारमा रहेका दल कसरी अघि बढ्छन् भन्ने हेरिरहेका छौं।’ मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले राजीनामा नदिएको र विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा कांग्रेसले सरकार बनाउने तयारी गर्दा हतारो हुने प्रतिक्रिया दिए। केन्द्रको गठबन्धन अनुरुप प्रदेशमा अहिले माओवादी केन्द्रका नेता जम्कट्टेलको नेतृत्वमा सरकार रहेको छ। 

कांग्रेसका ६ जना मन्त्रीले राजीनामा दिएपछि उक्त मन्त्रालय समेत जम्कट्टेल आफैंले नेतृत्व गरिरहेका छन्। केन्द्रको गठबन्धनमा आबद्ध दलहरु मिल्दा समेत बागमतीमा सरकार टिकाउन अझै मुस्किल रहेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)  मिल्दा पनि अझै एक मत अपुग रहेको छ। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ मत आवश्यक छ। गठबन्धनमा रहेका एमालेको २७, माओवादी केन्द्रको २१ र नेकपा एसको ७ गरी ५५ मत रहेको छ। जम्कट्टेल नेतृत्वको सरकार टिकाइराख्न १ मत आवश्यक पर्दछ। यसका लागि २ सांसद् रहेको हाम्रो नेपाली पार्टीको समर्थन लिने प्रयास गरिरहेको छ। बागमतीमा कांग्रेसको ३७, राप्रपाको १३, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सांसद रहेको छ।  

दीर्घकालीन असर हुने काम नगर्न आग्रह

नेपाली कांग्रेसले दीर्घकालीन असर हुने काम नगर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ। कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने काम नगर्न आग्रह गरेको हो। नियमित काम कारबाही बाहेक दीर्घकालीन असर पर्ने काम र संवैधानिक नियुक्ति नगर्न सचेत गराउने निर्णय गरेको हो। बैठकले कांग्रेसले अब सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय समेत गरेको छ। यस्तै कांग्रेसका मन्त्रीहरुले सरकारबाट दिएको राजीनमा अनुमोदन गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका उपनेता चित्रकारले बताए। 

फागुन २३ गते सरकारबाट बाहिरिँदै कांग्रेसका मन्त्रीहरूको सामुहिक राजीनामा दिएको थियो। कांग्रेसले सोही दिनदेखि लागू हुने गरी सरकारको समर्थन समेत फिर्ता लिएको निर्णय लिएको थियो। कांग्रेसले प्रतिपक्षको बेन्चमा बसेर बैठकमा सहभागिता जनाएको छ। पछिल्लो समय बदलिएको राजनीतिक परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा लिएको उपनेता चित्रकारले बताए। कांग्रेस संसदीय दलको वैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा योजना व्यवस्थापन गर्न बागमती प्रदेशसभाबाट गठन गरिएको विशेष समितिले मंगलबार सभामुख भुवन पाठकलाई बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकार समक्ष आग्रह समेत गरेको छ।  

प्रकाशित: २९ फाल्गुन २०८० १९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App