१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सुखानीका सहिद सम्झँदै झलनाथ खनाल

वामपन्थी नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल सुखानी घटनाका प्रत्यक्षदर्शी हुन् । झापा विद्रोहका क्रममा सक्रिय राजनीति गर्नेमा खनाल पनि एक हुन्। उनै खनालले सुखानीका सहिदको सम्झना गरेका छन्। झापा विद्रोहका क्रममा सहादत प्राप्त गरेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठहरूको स्मरण गर्दै नेता खनालले उनीहरुप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्।  ५० वर्षअघि फागुन २१ गते सहिदहरुले सुखानीमा शहादत प्राप्त गरेका थिए।

नेता खनाल फागुन २१ को घटना यसरी सम्झन्छन्, ‘म ठीक त्यहि दिन कोअर्डिनेसन केन्द्र बनाउने बारेमा छलफल गर्न इलामबाट चिसापानी, गरुवा हुँदै झापा जाँदै थिएँ। गरुवा पुग्दा मलाई रोकियो। हजारौं यात्रीलाई बिहानैदेखि रोकिएका रहेछन्। यसको कारण हत्याकाण्ड रचिएको रहेछ। केही समयपछि छाडियो। म घटनास्थलमा पुगें। चारैतिर रक्ताम्मे थियो। रुख पातमा रगतका छिर्का परेको देखिन्थ्यो। बोझिल हृदय लिएर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरें।’

नेता खनाल फेरि सम्झन्छन्, ‘राजतन्त्रको ठाडो आदेशमा त्यो घटना अमानवीय, विवेकहीन र पासविक थियो। पञ्चायती शासकले ती सहिदहरूलाई जेलमा राख्ने र उहाँहरूको बाँच्न पाउने मानव अधिकारको वास्ता गरेनन्। यसरी अनेकौं ठाउँमा सयौं योद्धाको हत्या गरियो।’

नेता खनालले तिनै साहिदहरूको प्रेरणा, नेपाली जनताको अभूतपूर्व जागरण र संघर्षको परिणामस्वरुप ०६२–०६३ मा जनक्रान्ति सम्पन्न भई मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताए।

समाजमा व्याप्त शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार, विकृति विसंगतिलाई समुच्छेद गर्दै सुन्दर, लोकतान्त्रिक र समृद्ध समाजवादी व्यवस्था तथा समाजवादी लोकतन्त्र प्राप्त गर्ने सहिदहरूको सपना पूरा गर्ने समय आएको उनको भनाइ छ। उनी भन्छन्, ‘यसका लागि कम्युनिस्टहरू सबै एकताबद्ध भई सहिदहरूको सपना समाजवाद निर्माणमा दृढतापूर्वक अघि बढौं।’

प्रकाशित: २१ फाल्गुन २०८० ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App