शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रमा देखापरेका कानूनी रिक्ततालाई परिपूर्ति गर्नेगरी काम गरिररहेको बताएका छन्।
शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले शिक्षा क्षेत्रमा कानूनी हिसावले देखा परेका रिक्ततालाई परिपूर्ति गर्ने ढंगले काम गरिरहेको बताएका हुन्।
उनले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव भएको भन्दै परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानुनहरु बनाउनुपर्ने बताए। उनले प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउने अन्तिम चरणमा रहेको बताए। उच्च शिक्षा सम्बन्धी ऐनपनि संसदमा छिट्टै ल्याउने गरी काम गरिरहेको उनले जानकारी दिए।
उनले भने, ‘अहिले शिक्षा क्षेत्रको सबभन्दा मुख्य समस्या भनेकै उपयुक्त ऐन, कानूनहरुको अभाव हो। परिवर्तित व्यवस्था अनुरुपको ऐन, कानूनहरु बनाउनुपर्ने छ। विद्यालय शिक्षा सम्बन्धी ऐन अहिले छलफलमा छ समितिमा। प्राविधिक शिक्षा सम्बन्धी ऐन संसदमा आउनेवाला छ अन्तिम चरणमा छ। त्यस्तै, उच्च शिक्षा सम्बन्धी ऐनपनि नयाँ ढंगले ड्राफ्ट गरेर अगाडी लानुपर्ने आवश्यकतामा छ। ०७६ सालमा बनेको ड्राफ्ट सार्वजनिक रुपमा छलफलका लागि मैले सार्वजनिक गरेको थिएँ। धेरै विज्ञहरुको विचार हेर्दाखेरी त्यो ऐनलाई नयाँ ढंगले नयाँ आकार, नयाँ सारतत्व राखेर समयानुकुल बनाउनुपर्ने कुरा आएको छ। त्यसलाई ड्राफ्ट गरेर सकेसम्म छिटो संसदमा प्रश्तुत गर्ने प्रयत्न चलिरहेको छ। शिक्षा क्षेत्रमा कानूनी हिसावले देखा परेको एकखालको रिक्तता नै भन्न सकिन्छ यसलाई, त्यो रिक्ततालाई परिपूर्ति गर्ने ढंगले म काम गरिरहेको छु।’
प्रकाशित: १८ फाल्गुन २०८० १७:३७ शुक्रबार