प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालको खस्कँदै गएको अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा सभामुख मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वमन्त्रि समेत रहेका ढकालले विश्वका १८१ मुलुकसँग नेपालको द्विपक्षीय सम्बन्ध र ३० मित्र राष्ट्रमा नेपाली दूतावास हुँदा पनि अन्तर्राष्ट्रिय सम्बन्ध भने निरन्तर कमजोर हुँदै र बेवास्तामा पर्दै गएको प्रति चिन्ता व्यक्त गरे।
सङ्घीय सांसद ढकालले सन् २००६ मा ७६ औं स्थानमा रहेको नेपाली पासपोर्ट २०२४ मा १०३ औं स्थानमा झर्नु गरिबी, बेरोजगार, भ्रष्टाचार र सरकारको कमजोर कूटनीतिको कारण हो ?, नेपालमा शक्तिशाली मित्र राष्ट्रहरुबाट सरकार प्रमुखको भ्रमण नहुनुको कारण के हो ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे।
केही समयअगाडि एको संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमण पनि योजनाबद्ध नभई आकस्मिक भएको सांसद ढकालको जिकिर थियो। ‘के नेपाल सधैँ क्षेत्रीय राजनीतिको चपेटामा पिल्सीयर बस्ने हो ?’ ढकालले संसद्मा प्रश्न गरे।
सांसद ढकालले कतिपय मित्रराष्ट्रले काठमाडौँमा दूतावास हुँदा पनि नेपालीलाई भिसा आवेदन गर्न दिल्ली जानुपर्ने बाध्यता सिर्जना गर्नु आपत्तिजनक छ भन्दै यो विषय देशको प्रतिष्ठासँग जोडिएकोले उच्च स्तरीय कार्यदल बनाएर समाधान खोज्नु उचित हुने ढकालले सुझाव दिए।
ढकालले भने, ‘गठबन्धन सरकारको घैँटोमा घाम लागोस्, कूटनीतिमा पनि प्राथमिकता जाओस्।’
प्रकाशित: १४ फाल्गुन २०८० २१:२३ सोमबार