१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

देश र जनताको सर्वोत्तम हितमा केन्द्रित हुन राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित १०३ औँ महेन्द्रनारायण निधि जन्म जयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले जनताको अवस्थामा परिवर्तन आउने र सर्वोत्तम हितलाई केन्द्रमा राखेर काम गर्न सबै पक्षलाई आग्रह गरेका हुन्।

‘परिवर्तनको अनुभूति वास्तविकरुपमा गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गले पाउन नसक्दासम्म संविधान र गणतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुन सक्दैन,’ पौडेलले भने।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका काम पुरा नहुँदा जनतामा निराशा आएको राष्ट्रपतिले बताए। कतिपय सन्दर्भमा हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले त यस्तो अवस्था आएको होइन भन्ने प्रश्न गर्दै उनले भने,‘कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन।’ राजनीतिक निष्ठाले जित्नुपर्ने धारणा राख्दै राष्ट्रपति पौडेलले भने,‘लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए। ‘जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपालको निर्माण गर्न निधिजस्ता (महेन्द्रनारायण) अग्रज नेताहरूको अटल विश्वास रहेको कल्याणकारी राज्य प्रणालीको अवधारणा, सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको छ,’ उनले भने।

राष्ट्रपति पौडेलले यस वर्षको महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान प्रथम राष्ट्रपति डा रामवरण यादवलाई प्रदान गरे।

प्रकाशित: १३ फाल्गुन २०८० १८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App