१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण सार्वजनिक गर्न सांसद थापाको माग

नेकपा (एमाले) का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गरेका हुन्।

उनले रुसी सेनामा कति युवाहरु पुगेका छन्? कतिको मृत्यु भयो? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रुपमा जानकारी दिनुपर्ने बताए। विवरण संसदमा अविलम्व प्रस्तुत गर्न माग गरे। उनले युक्रेनी सेनाको बन्धक रहेका भनिएका दुई जना नेपाली युवाको स्थिति सार्वजनिक गर्न पनि माग गरे। उनले नेपालको घोषित परराष्ट्र नीति अन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन नपाइने भएपनि युवाहरु भर्ती भइरहेका भन्दै कसको संलग्नतामा यस्तो भइरहेको हो भन्ने पनि प्रष्ट पार्नुपर्ने बताए।

उनले भने, ‘नेपाल सरकारले सोमेश र लालबहादुर जस्ता अरु १२ जनाभन्दा बढी यो युद्धमा मृत्यु भएका भनिएका नेपाली युवाहरुको अवस्था के छ? केही जानकारीसम्म गराउन सकेको छैन। सञ्चार माध्यम र सामाजिक सञ्जालबाट परिवारजनले समाचार सुन्ने, आधिकारिकता थाहा पाउन नसक्ने, विचित्रको लाजमर्दो स्थिति विद्यमान छ। सरकारले उनीहरुको अवस्था जानकारी गराउन सक्ने जिम्मेवारी वहन गर्न किन सकिरहेको छैन। यो देशमा सरकार छ कि छैन? परराष्ट्र मन्त्रालय छ कि छैन? म प्रश्न गर्न चाहन्छु। सँगसँगै नेपालको घोषित परराष्ट्र नीति अन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन पाइदैनँ। बेलायत र भारतीय सेनामा भर्तीको पुरानो त्रिपक्षिय सम्झौता छ। बेलायतले नै सिंगापुर पुलिस र अवकाशप्राप्त गोर्खा सैनिकलाई ब्रुनाईको सुरक्षा टुकडीमा पठाउने गरेको स्थिति छ। यो सन् १९६५ भन्दा अघि बेलायतको सिंगापुर र ब्रुनाई उपनिवेश रहँदादेखिको अभ्यास हो। ति देशले गर्दै आएको र अहिलेपनि त्यो अभ्यास निरन्तर रहेको स्थिति छ। नेपालीहरु विदेशी पिआर लिएर अमेरिकी र फ्रान्सेली सेनामा समेत भर्ती भएको भन्ने सञ्चार माध्यमहरुबाट जानकारी हुने गरेको छ। अनाक्रमण, अहस्तक्षेप र असंलग्नताको परराष्ट्र नीति अंगालेको नेपालका नागरिकहरु आज रुस र युक्रेन दुवै देशको सेनामा भर्ती भएर आपसमा लडिरहेका छन् भन्ने जानकारी सरकारका सामु नपुग्नु बडो विडम्बनाको स्थिति हो।’

प्रकाशित: १० फाल्गुन २०८० १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App