२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवस होः गृहमन्त्री श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताएका छन्।

मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले  यस वर्षको लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए। उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति आउन सक्ने बताए।  

उनले भने, ‘यस वर्षको लागि पनि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। र राजपत्रमा पनि प्रकाशित भइसकेको थियो। तर सन्दर्भ यस्तो आयो की अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गरिदियो। त्यो अदालतको कार्यक्षेत्रको विषय हो की होइन, अर्कै वहस छ। तर हाम्रो सरकार अहिले शान्तिपूर्ण कार्यदिशाको प्रक्रियामार्फत अघि बढेको सरकार हो। त्यसकारण अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य ठान्दछौँ। त्यसैले अदालतको यो निर्णयलाई स्वीकार गर्दै क्याबिनेटले फेरि अहिले हामीले घोषणा गरिसकेको बिदालाई अदालतको निर्णयअनुसार दिन नमिल्ने भएको कारणले त्यसलाई हामीले सूचना प्रकाशित गरेर बिदा रहेन भन्नुपरेको स्थिति आएको सबैलाई ज्ञात नै छ। सरकारले औपचारिक रुपमा बिदा दिओस् नदिओस्। आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो, क्रान्तिकारी नेपाली जनताले यसलाई मनाउँछन्। मनाइरहेका छन्। आज हामी त्यसकारणले पनि मनाइरहेका छौँ। कुनै सन्दर्भ फेरि शान्ति प्रक्रियालाई पार गरिसकेपछि अदालतले जे संकेत गरेको छ, त्यसअनुसार फेरि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति पनि आउन सक्छ।’

प्रकाशित: १ फाल्गुन २०८० १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App